सदनमा उठेका विषयबारे जवाफ दिन सभामुखको ‘रुलिङ’
काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्मा विभिन्न समयमा उठेका विषयमा जवाफ दिन सरकारलाई ‘रुलिङ’ गरेका छन्।
मंगलबारको बैठकमा जनमत पार्टीका सांसदहरूले पार्टीका संरक्षक रेशम चौधरीलाई बिना कारण पक्राउ गरी कारागार चलान गरिएका विषयमा सरकारको जवाफ माग गर्दै उभिएर विरोध गरेपछि सभामुखले उक्त रुलिङ गरेका हुन्।
जनमत पार्टीका सांसद अब्दुल खानले संरक्षक चौधरी पक्राउ सम्बन्धमा सरकारले स्पष्ट जवाफ नदिएसम्म सदनको कामकारबाही अघि बढ्न नसक्ने बताए। सभामुख घिमिरेले यही वैशाख २५ गतेको बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त घटनाका सम्बन्धमा सदनमा उपस्थित भएर जवाफ दिने जानकारी दिँदै सदनको कामकारबाही अघि बढाउन आग्रह गरे।
चौधरी पक्राउका सम्बन्धमा गृहमन्त्री लेखकले जवाफ दिने सभामुख घिमिरेको जानकारीपश्चात् सदन नियमित कार्यसूचीमा प्रवेश गरेको छ। यही वैशाख १९ गते सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि दलीय आधारमा छलफल प्रारम्भ भएको छ ।