आईएमई ग्रुपको इला होटलसहित पाँच होटल सञ्चालनमा
काठमाडौं । आईएमई ग्रुपको नेतृत्वमा पाँचवटा होटल तथा रिसोर्ट सञ्चालनमा आएका छन् । आईएमई हस्पिटालीटीले नवलपुरको मौलाकालीमा नव निर्मित इला होटल सञ्चालनमा ल्याएसँग यस समूहको पाँच होटल सञ्चालनमा आएका हुन् । केही महिना अघिमात्र बागलुङमा इला होटलको औपचारिक उद्घाटन भएको थियो । आईएमई ग्रुपले काठमाडौंको चन्द्रागिरिमा चन्द्रागिरि रिसोर्ट, काठमाडौंकै लाजिम्पाटमा होटल ले हिमालय र पोखराको लेकसाइटमा लेक साइट रिट्रिट सञ्चालन गरिरहेको छ । मुलुकको विकास र सम्मृद्धिको प्रमुख आधार पर्यटन नै भएको र त्यसैअनुसार पर्यटन पूर्वाधारहरू निर्माण गर्ने क्रममा आईएमई ग्रुप जुटेको सो ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । आईएमई हस्पिटालिटीले मुलुकका सातवटै प्रदेशमा केबलकारसहितका होटल तथा रिसोर्ट निर्माण आयोजना अगाडि बढाइरहेको पनि उनले बताए। हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् । मौलाकालीमा होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन् । लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको उनले बताए । त्यहाँ पनि अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा ल्याउने उनको योजना छ । त्यस्तै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम अगाडि बढाइरहेको छ । मुलुकमा पर्यटन पूर्वाधारको कमी छ । नेपाल आउने विदेशी पर्यटकको औषत खर्च तथा बसाई अहिले निकै कम छ र यो प्रतिदिन झन घट्दो क्रममा देखिन्छ । विदेशी पर्यटकहरु औषत १२ दिन नेपाल बस्ने र दैनिक औषत ५० डलर भन्दा कम खर्च गर्ने गरेको पछिल्लो तथ्याङ्क छ । ‘हामीले पर्यटकलाई आकर्षित गर्ने, उनीहरुको नेपाल बसाई र खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरु निर्माण गर्नुपर्नेछ । नेपालको संस्कृति, कला, प्राकृतिक सौन्दर्य र यहाँको अलौकिक विशेषतायुक्त भूगोल र अवस्थितिको अवलोकनका लागि नेपालमा पर्यटकलाई आकर्षित गर्न सक्नुपर्छ, अध्यक्ष ढकालले बताए ।

पर्यटकको बसाई लम्बाउन सक्दा थप विदेशी मुद्रा आर्जन हुने, थप रोजगारी सिर्जना हुने, सरकारले थप राजश्व उठाउन सक्ने र व्यवसायीले पनि लाभ लिन सक्ने उनले बताए । चितवन, तनहूँ र नवलपुरको यो संगम नेपालको एक धार्मिक तथा सांस्कृतिक महत्वको पवित्र भूमिमा रहेका मौलाकालिका मन्दिरको करिब साढे चार सय वर्ष पुरानो इतिहास छ । सँगै रहेको देवघाट वैदिक सनातन धर्मावलम्बीहरुको पवित्र धाम हो । ‘हाम्रै वरिपरिका नारायणी, देवघाट, त्रिवेणीजस्ता देवभूमि र तपोभूमिको महत्वको बयान गर्न म असमर्थ छु, मेरो क्षमताले पुग्दैन,’ होटल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बताए । ‘आध्यात्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व रहेको यस्तो पुण्यभूमिमा जति धेरै पर्यटकीय संरचनाहरु निर्माण गरे पनि पुग्दैन । यसकारण पनि हामीले यो क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय संगम स्थलसहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्न गरेका हौँ र आजको यो संरचना सम्भव भएको हो,’ उनले भने । चन्द्रगिरी छोटो समय अवधिमा नै नेपालको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनेको चर्चा गर्दै उनले हरेक डाँडा डाँडामा पर्यटनको सम्भावना आफूले देखेको उनले बताए ।