फोनपेद्वारा स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५ को थालनी
काठमाडौं । डिजिटल भुक्तानी सञ्जाल फोनपे ले ‘फोनपे स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५’ सार्वजनिक गरेको छ। जसले देशभरका विश्वविद्यालयका विद्यार्थीहरूलाई डिजिटल साक्षरता, फिनटेकमा नवीनता, र सामाजिक प्रभावमा सशक्त बनाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस कार्यक्रमको मूल मान्यता भनेको विद्यार्थीहरू नै नेपालको भविष्यका डिजिटल नेतृत्वकर्ता हुन् भन्ने हो । आजको युवालाई सशक्त बनाएर मात्रै भोलिको डिजिटल समावेशी नेपाल निर्माण गर्न सकिन्छ भन्ने विश्वासमा आधारित यो कार्यक्रमले आधुनिक सीप र नेतृत्व क्षमताबाट भरिपूर्ण नयाँ पुस्ता तयार गर्ने उद्देश्य राखेको छ । कार्यक्रमको एक विशेष पाटो हो – ‘टाइम टु टीच ब्याक’ पहल, जसअन्तर्गत विद्यार्थीहरूलाई आफ्ना अभिभावक र समुदायका वृद्ध सदस्यहरूसँग जोडिएर डिजिटल वित्तीय उपकरणहरूको प्रयोग सिकाउने प्रोत्साहन दिइन्छ, जसले पुस्ताबीचको डिजिटल दूरी कम गर्न सघाउँछ । यो वर्ष कार्यक्रमप्रति उल्लेखनीय उत्साह देखिएको छ । देशभरबाट १७० भन्दा बढी टिमहरूले आवेदन दिए। प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि ७५ टिम तथा १५० विद्यार्थीहरू छनोट गरिएको छ, जो आफ्ना कलेज र प्रदेशको प्रतिनिधित्व गर्दै डिजिटल रूपान्तरणको यात्रामा संलग्न हुँदैछन् । ८ हप्ता लामो कार्यक्रम अन्तरगत विद्यार्थीहरूले डिजिटल भुक्तानी प्रवर्द्धन, सशक्त सामग्री सिर्जना, र नेतृत्व सीप विकासका चुनौतीहरू सामना गर्नेछन् । आधिकारिक फोनपे एम्बेसडरको रूपमा उनीहरूले आफ्ना कलेज र समुदायहरूमा सचेतना अभियान डिजाइन र सञ्चालन गर्दै व्यवहारिक अनुभव लिनेछन् र दीर्घकालीन सामाजिक प्रभाव सिर्जना गर्नेछन् । फोनपेकी मार्केटिङ प्रमुख, सलिना नकर्मी भन्छिन्, ‘हामी युवाको शक्ति र परिवर्तन ल्याउने क्षमतामा विश्वास गर्छौं। स्टुडेन्ट एम्बेसडर कार्यक्रममार्फत हामी विद्यार्थीहरूलाई डिजिटल संसारमा सफल हुन आवश्यक उपकरण दिन चाहन्छौँ, अनि तिनले सिकेको ज्ञान आफ्नो पूरानो पुस्तासँग बाँड्न प्रोत्साहन गर्न चाहन्छौं । यो नेतृत्व निर्माणको अभियान हो, जसले अरूलाई पनि अगाडि बढाउँछ ।’ छनोटमा परेका विद्यार्थीहरू देशभरका विविध शैक्षिक संस्थाहरूबाट आएका छन्, जसले नेपालकै शैक्षिक विविधता र राष्ट्रिय पहुँच देखाउँछ ।