पार्टीभित्रकै केही नेताका कारण गठबन्धन भत्किए पनि अन्ततः पुनर्मिलन भयो ः नेता बस्नेत


काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्वमन्त्री एवम् पुनर्मिलन गराउने नायक मोहनबहादुर बस्नेतले पार्टीभित्रकै केही नेताका कारण गठबन्धन भत्किए पनि अन्ततः पुनर्मिलन भएको बताए । बस्नेतले ‘कांग्रेसकै केही वार्ताकारहरूले राजनीतिक सुझबुझ राख्न सक्नुभएन । आउन सक्ने परिस्थितिजन्य क्रियाकलापहरू बुझ्न सक्नुभएन । सरकार बनाउने परिस्थिति रोकियो । र, अर्को परिस्थिति बन्यो, अहिले आएर त्यो अवस्था करेक्सन भइसकेको छ । पुस १० गतेको राजनीतिक कोर्स करेक्सन भइसकेकाले अब नयाँ समझदारीका साथ दलहरू अघि बढ्ने उनको भनाई छ । उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितको आठ दलीय गठबन्धनबीचको राजनीतिक समझदारीले देशलाई निकास दिने बताए ।
कांग्रेस पार्टी र सभापति शेरबहादुर देउवाजीले दूरदर्शिता राख्नुभयो, हामीले राजनीतिक निकासका लागि दिशानिर्देश गर्ने, संवाद गर्ने र देशको अहिलेको आवश्यकतालाई बोध गरेर रूपान्तरणको बाटोमा अघि बढ्न प्रेरित गरेपछि अब देशले निकास पाउने आशा जागेको हो ।

उनले सरकार गठनपछि एमालेको गतिविधि त्यति राम्रो नभएको आरोप लगाए । राप्रपा र रास्वपालाई राम्रा मन्त्रालय जिम्मा लगाउने र अस्थिरतामार्फत फेरि कुनै पनि बेला चुनाव हुने अवस्था आउन सक्ने वातावरण बन्दैपछि कांग्रेसले चुनावी गठबन्धन ब्यूँत्याउन प्रयास थालेको उनको भनाइ छ । ‘प्रधानमन्त्रीजीले एमाले नेताको घरमा दिनैपिच्छे जानुपर्ने अवस्था आयो । कांग्रेसभित्र संविधानको रक्षाका लागि, राजनीतिक स्थिरताका लागि, विकासका लागि कांग्रेसले अग्रसरता दिनैपर्छ भन्ने बहस सुरु भयो । नेता बस्नेतले कांग्रेसको अग्रसरताका कारण पुरानो पाँच दलीय गठबन्धन ब्युँतिएको बताए । सुरुआतमा माओवादी उपमहासचिव वर्षमान पुनसँग संवाद गरेको बताउँदै नेता बस्नेतले त्यसपछि क्रमशः सहकार्यमा पुगेको जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *