व्यवसायीलाई लोकप्रिय बन्न सस्ता मिठा कुरा नगर्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४ औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रका नेतृत्वमा रहेका व्यक्तिले व्यवसायीहरु माझ लोकप्रिय बन्ने होडबाजीमा सस्ता मिठा कुरा नगरी जिम्मेवार भएर कुरा उठाउन पनि आग्रह गरे । हामी निजी क्षेत्रको नेतृत्वमा रहेका व्यक्तिहरुले सस्तो लोकप्रियताका लागि व्यवसायीहरु माझ गैरजिम्मेवार भएर जथाभावी बोल्नु हुदैन । पपुलर हुनकै लागि बैंकको ऋण र ब्याज तिर्दिन भन्ने कुरा गर्नुहुँदैन । बैंकमा भएको निक्षेप पनि जनताको हो । हामी व्यवसायीहरुले यस्तो गैरजिम्मेवार कुरा बोल्नु हुँदैन । उनले केही व्यवसायी साथीहरुले महासङ्घको निर्वाचनलाई लक्षित गरी पपुलर कुराहरु गर्ने गरेको बताउँदै नेतृत्वमा पुग्ने व्यक्ति जवाफदेही र जिम्मेवार पनि हुनुपर्ने बताए । कोभिड महामारीका कारण मुलुकको मात्र नभएर विश्व अर्थतन्त्रमा नै समस्या देखिएको बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले यसमा विस्तारै सुधार देखिन थालेको जानकारी गराए । कोभिड महामारी र त्यसपछिको समयमा नेपालमा मात्र होइन, विश्व अर्थतन्त्रमा नै समस्या देखिएको थियो । त्यसैको प्रभाव स्वरुप नेपालको बैंकिङ्ग क्षेत्रमा तरलता अभाव सुरुभयो र बैंकको कर्जाको व्याज दर बढ्न गयो । तर, अहिले हाम्रो अर्थतन्त्रका केही इन्डिकेटरहरु सकारात्मक हुन थालेको संकेत देखिएका छन् । त्यसैले म व्यवसायी साथीहरुलाई आत्तिने र हडबडाउने नगर्न पनि आग्रह गर्न चाहन्छु ।

आर्थिक संकटको कारण देखाउँदै केही व्यवसायीहरुले आत्महत्या गरेको तर्फ इङ्गित गर्दै ढकालले व्यावसायिक यात्राका क्रममा धेरै सहज र असहज परिस्थितिहरु आउने हुँदा त्यस्तो चुनौतीहरु सामना गर्दै अगाडि बढ्न व्यवसायीहरुलाई सुझाव समेत दिए । बैंकको व्याजदरको विषयमा महासंघको तर्फबाट आफूहरुले राज्यका विभिन्न निकायमा पटकपटक कुरा उठाएको बताउँदै पछिल्लो समय राज्यले पनि केही विषयहरू सम्बोधन गरेको र वातावरण सहज बन्दै गएको बताए । एउटा बैंकको सञ्चालक भएको नाताले आफू उपस्थित हुने धेरै कार्यक्रमहरुमा पटक पटक बैंकको व्याजदरको विषय उठाउने गरेको बताउँदै उनले धेरै व्यवसायी साथीहरुलाई कुनै एउटा बैंकको सञ्चालकको चाहनाले मात्र बैंकको व्याजदर परिवर्तन हुने भ्रम रहेको बताए । धेरै व्यवसायी साथीहरुलाई कुनै एउटा बैंकको सञ्चालकले घटाइदिने हो भने व्याजदर घट्न सक्छ भन्ने लागेको देखिन्छ । तर म के कुरा स्पष्ट पार्न चाहन्छु भने यो कुनै एउटा बैंक वा बैंकको सञ्चालकको चाहनाले मात्र परिवर्तन हुने र गर्न सकिने कुरा होइन । व्याजदर निर्धारणमा आन्तरिक तथा बाह्य धेरै कुराहरुको प्रभाव रहन्छ । त्यसै पनि निक्षेपको व्याज बढ्दा अहिले बैंक तथा वित्तीय संस्थाको लागत पनि बढेको छ उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *