रवि लामिछानेको उम्मेदवारीविरुद्ध चार उजुरी
चितवन । चितवन–२ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको उम्मेदवारीका विरूद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा उजुरी परेका छन् । निर्वाचन कार्यालयका अनुसार उजुरी दिनेमा सिन्धुली घर भई हाल काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने युवराज पौडेल (सफल) ले इमेलमार्फत् उजुरी गरेका छन् ।
उनले उजुरीमा विदेशको नागरिकता त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि व्यथित नभई निर्वाचनमा उम्मेदवार हुन नमिल्ने उल्लेख गरेका छन् । लामिछानेले गत माघ १५ गतेमात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुन:प्राप्ति गरेका थिए ।
त्यस्तै स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवबहादुर सुवेदीले कार्यालयमै पुगेरलामिछानेको उम्मेदवारीविरुद्ध उजुरी दिएका छन् ।
उनीहरूले लामिछानेले पुरानो मतदाता नामावलीको आधारमा उम्मेदवारी दर्ता गरेको र नागरिकता लिएको तीन महिना नपुग्दै उम्मेदवार बन्न नमिल्ने जिकिर उजुरीमा गरेको दाबि गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरी बारे सम्बन्धित उम्मेदवारसँग स्पष्टीकरण सोधेर निर्वाचन आयोगमा पठाउने तयारी गरेको छ ।















