ठगीकाण्डले नैतिक संकटमा प्रेमकुमार राई, अख्तियार प्रमुख सधैं विवादमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई विवादमा तानिएका छन् । नक्कली भुटानी शरणार्थीे प्रकरणमा तत्कालीन गृहसचिव रहेका राई उम्कन नसक्नेगरी जवाफदेही छन्। गिरोहका सदस्यले राईलाई साढे दुई करोड रुपैयाँ बुझाएको बयान दिइसकेका छन् । तर यसबारे राईले औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । जबकि उनी आफैं भ्रष्टाचारीलाई कारबाही गर्ने निकायका प्रमुख छन् ।
अख्तियारको प्रमुख आयुक्त भइसकेपछि नक्कली शरणार्थी प्रकरणको अनुसन्धान गर्नुपर्ने फायल अगाडि नबढाई मुल्तवीमा पठाएकाले राईलाई पनि अनुसन्धानको घेरामा राखेर छानबिन गर्नुपर्ने आवाज उठेको छ । बिचौलियाले राईको गाडीको डिकीमा साढे दुई करोड राखेको दाबी गरेका छन् ।
केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री रहेका रामबहादुर थापा बादल यो प्रकरणमा मुछिएका छन् भने उनका पुत्र पनि दोषी ठहरिएका छन्। शरणार्थी शिविरहरुमा बाँकी रहेका भुटानी शरणार्थीको तथ्यांक अद्यावधी गरेर विदेश पठाउने सरकारको नीतिको चरम दुरुपयोग गर्दै नेपाली नागरिकलाई नै नक्कली भुटानी बनाएर विदेश पठाउने गुप्त योजना त्यतिबेलै बनाएएको कुरा खुलिसकेको छ। जसमा कार्यदल गठन गर्दादेखि नै नक्कली शरणार्थी बनाउने योजनाका व्यक्तिहरुको प्रभावमा परेर कार्यदल बनाइएको खुलिसकेको छ।
गृहसचिव रहेका राईकै अग्रसरतामा पन्थी कार्यदल बनाइएको थियो। वर्तमान अख्तियार प्रमुख राई यस प्रकरणको अनुसन्धान क्रममा महत्वपूर्ण स्रोत व्यक्ति भएकाले उनीसँग प्रारम्भमा सोधपुछ हुने प्रहरी स्रोतले बतायो ।
यही प्रकरणमा दोषी देखिएर प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जुसमेत प्रहरीको निगरानीमा भए पनि हाल उनी फरार छिन्। उनले आफ्नो संलग्नताबारे प्रतिवाद गरेको सुनिएको छैन ।
अहिलेसम्म बनेका अख्तियार प्रमुख सबै विवादित बनेका छन् । सूर्यनाथ उपाध्यायको ६ वर्षे कार्यकाल पनि विवादै विवादमा बितेको थियो । कम्युनिस्टहरूको प्रभावमा परेर उनले कांग्रेसका नेताहरुलाई छानीछानी मुद्दा चलाउने गरेका थिए । अख्तियार प्रमुख बनेका नवीन घिमिरे, दीप बस्न्यात पनि घुसकाण्डमै मुछिएका थिए । अख्तियारका आयुक्त राजनारायण पाठक त जेल नै परे ।
उनी धरौटीमा रिहा भइसकेका छन् । अहिलेका राई ठगीकाण्डमा जोडिएका छन् । नेपाल आयल निगममा भएको आठ करोड भ्रष्टाचारमा उनीविरुद्ध मुद्दा चले पनि अख्तियारले तामेलीमा राखेर उन्मुक्ति दिएको थियो । तर पनि राईले नैतिकताका आधारमा राजीनामा दिनु त परै जाओस् यो प्रकरणलाई नजरअन्दाज नै गरिरहेका छन् ।
















