बालुवाटार बैठकमा सत्तारुढ गठबन्धनबीच यस्तो भयो सहमति
काठमाडौं । सत्तारुढ दलहरुबीच गठबन्धनमा देखिएको विमतिलाई अन्त्य गर्ने र सर्वसम्मत ढंगले बजेट पारित गर्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा दलहरुबीच देखिएको असन्तुष्टिलाई समाधान गर्ने सहमति भएको हो ।
बैठकमा बजेटसहित पछिल्ला समसामयिक राजनीतिक गतिविधिबारे छलफल भएको र सबै दलका नेताहरु गठबन्धनमा देखिएको समस्या समाधान गर्ने विषयमा नेताहरुबीच सहमति भएको एक नेताले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी थिए । कांग्रेस सभापति शेरबहादुर देउवा आज सिंगापुर जाने तयारीमा रहेकाले उपस्थित हुन सकेनन् । उपसभापति पूर्णबहादुर खड्का भाइबुहारीको निधनले अहिले बाहिर निस्किएका छैनन् । सोहीकारण पार्टी प्रवक्तासमेत रहेका महत सहभागी भएका हुन् ।
एकीकृत समाजवादीले सरकारले बजेट संशोधन नगरे सरकार ढाल्नेसम्मको चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धनको बैठक बोलाएका हुन् । बजेटमा नेताहरूले राखेको असन्तुष्टिलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने भएका छन् । बैठकमा बजेट पास गरेर असन्तुष्टिका विषयलाई सम्बोधन गरेर जाने सहमति भएको बताइएको छ ।
एकीकृत समाजवादीका सांसदहरुले संसद बैठकमै बजेट नसच्याए सरकारबाटै बाहिरिने चेतावनी पनि दिएका थिए । अध्यक्ष माधव नेपालले पनि कांग्रेस र माओवादीले एकलौटी गरेको भन्दै सार्वजनिक रुपमै विरोध गरिरहेका छन् ।
जनता समाजवादी पार्टीले पनि ‘पहुँचका आधारमा बजेट निश्चित क्षेत्रमा केन्द्रित’ गरेको भन्दै संशोधन हुनुपर्ने अडान राखेको छ । जसपाले प्रधानमन्त्री प्रचण्डलाई भेटेर बजेट संशोधनको माग गरिसकेको छ ।
















