नेपाली टोलीका अलराउन्डर आरिफ शेखले एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने
काठमाडौँ । नेपाली टोलीका अलराउन्डर आरिफ शेखले यसैसाता श्रीलंकामा सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् ।
यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको टोलीमा आरिफलाई पनि समावेश गरिएको थियो । आरिफले घरायसी समस्याका कारण प्रतियोगिता नखेल्ने निणर्य लिएका हुन् । अलराउन्डर आरिफ तल्लोक्रमका भरपर्दा ब्याट्सम्यान पनि हुन् । आरिफले नखेल्ने भएपछि उनको स्थानमा पवन सर्राफलाई टोलीमा समावेश गरिएको छ ।
इमर्जिङ टिम्स एसिया कप आगामी बिहीबार श्रीलंका सुरु हुँदैछ । आरिफले हालसम्म देशका लागि ४७ वटा एकदिवसीय प्रतियोगिता खेलेका छन् । उनले एकदिवसीय प्रतियोगितामा ६ वटा अर्धसतकको मद्दतले आठ सय ७८ रन बनाएका छन् ।
इमर्जिङ टिम्स एसिया कप जुलाई २३ तारिखसम्म चल्नेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । उक्त समूहमा भारतको ‘ए’ टोली, पाकिस्तानको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । यसैगरी समूह ‘ए’ मा श्रीलंकाको ‘ए’ टोली, बंगलादेशको ‘ए’ टोली, अफगानिस्तानको ‘ए’ टोली र ओमान रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेल जुलाई १४ तारिखमा पाकिस्तानको ‘ए’ टोलीसँग खेल्नेछ । नेपालले दोस्रो खेलमा १७ तारिखमा भारतको ‘ए’ टोली खेल्नेछ । यसैगरी समूहगत चरणको तेस्रो तथा अन्तिम खेल नेपालले जुलाई १९ तारिखमा यूएईसँग खेल्नेछ ।
प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा रोहित पौडेल (कप्तान), अर्जुन साउद (विकेटकिपर), कुशल भुर्तेल, गुलशन झा, सोमपाल कामी, प्रतिश जीसी, देव खनाल, सन्दीप जोरा, कुशल मल्ल, ललित राजवंशी, भीम सार्की, पवन सरार्फ, आसिफ शेख, सूर्य तामाङ, किशोर महतो र श्याम ढकाल रहेका छन् ।
नेपालका दुई प्रभावशाली खेलाडी स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले भने इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । विदेशी फ्रेन्चाइज लिग खेल्नुपर्ने भएकाले यी दुई खेलाडीले इमर्जिङ टिम्स एसिया कप नखेलेका हुन् ।
















