नारायणकाजीको भूमिकाप्रति देउवा र ओली जंगिएपछि प्रचण्डले भने– उहाँले अलि बढी बोल्नुभयो, म कुरा गर्छु
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकाप्रति आक्रोशित भएका छन् ।
पछिल्ला केही काण्डमा श्रेष्ठले दिएका अभिव्यक्तिलाई लिएर देउवा र ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आपत्ति जनाएका छन् । श्रेष्ठको यस्तै रवैया कायम रहिरहे आफूहरू विकल्प सोच्न बाध्य हुने चेतावनीसमेत उनीहरूले दिएका छन् ।
सोमबार सिंहदरबारमा बसेको प्रमुख तीन दलको शीर्ष नेताको बैठकमा देउवा र ओलीले नारायणकाजीको अभिव्यक्तिबारे चासो राखेका थिए । श्रेष्ठले केही समयअघि मिडियामा कुनै ‘कोट र टार’लाई छोडिन्न भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलका नेता ओलीले प्रधानमन्त्री प्रचण्डसमक्ष आपत्ति जनाएका थिए ।
ओलीको भनाइमा कांग्रेस सभापति देउवाले पनि समर्थन गदै ठीक भएन भनेपछि प्रचण्डले ‘उहाँले अलि बढी बोल्नुभयो । म कुरा गर्छु’ भनेका थिए ।
गृहमन्त्री श्रेष्ठले गोरखामा कांग्रेसलक्षित गरेर बोलेको कुरा पनि ओलीले उप्काएपछि देउवा जंगिएका थिए । उनले बैठकमै रहेका कांग्रेस प्रमुख सचेतक लेखकलाई त्यसबारे खोजेर जानकारी गराउन निर्देशन दिएका थिए । ओलीले गृहमन्त्री श्रेष्ठ कामभन्दा बढी बोलेर स्टन्टमा उत्रेको भन्दै गुनासो गरेका थिए । त्यसपछि प्रधानमन्त्री प्रचण्डले आफूले मन्त्री श्रेष्ठसँग यस विषयमा कुरा गरिसकेको जानकारी गराएका थिए ।
एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठको संलग्नता रहेको आशंका गर्दै उनको राजीनामा मागेको छ । उसले यस विषयमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने बताइसकेको छ । सत्तारुढ भए पनि गृहमन्त्री श्रेष्ठको भूमिकाप्रति कांग्रेस सभापति देउवा सन्तुष्ट छैनन् ।
विभिन्न घटनामा श्रेष्ठदे कांग्रेस र कांग्रेसका नेताको चरित्रहत्या गर्ने क्रमलाई निरन्तरता दिएपछि उनको विकल्प सोच्न देउवाले प्रचण्डलाई धेरै अगाडिदेखि आग्रह गर्दै आएका छन् ।
















