चमेली कल्याणकारी सहकारीको २१औं साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका बिरुवामा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको २१ औं साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रमोद घिमिरेको अध्यक्षता र नेफ्स्कुनका पुर्व अध्यक्ष ऋषिराज घिमिरेको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको छ । सभामा अध्यक्ष प्रमोद घिमिरेले संस्थाको दिगो आधार संस्थागत पुँजी भएको र चमेल कल्याणकारीको कोषहरु मजबुद रहेको बताए । संस्थालाई पारदर्शी र सुशासनमा संचालनको लागि नीति, विधि र प्रविधिलाई अधिकतम उपयोग गरेको बताउँदै उनले सदस्यहरुलाई वित्तीय साक्षरता, सहकारी शिक्षा ,बचत तथा ऋणको सेवाहरुको विविधिकरण गर्दै सेवा प्रवाह मार्फत सदस्यको वित्तीय आवश्यकता परिपूर्ति गरिने उनले बताए । संस्थाका सचिव दिपक कुमार न्यौपानले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गत वर्षभरी गरेका गतिविधिका बारे सभामा जानकारी गराए । सदस्यहरुमा नियमित बचत गर्ने बानीको विकास गरी आयमुलक र व्यवसायको लागि संस्थाले ऋण लगानी गर्ने उनले जानकारी दिए। त्यसैगरी लघुवित कार्यक्रम मार्फत न्युन आय भएका सदस्यहरुको आर्थिकस्तर माथी उकास्ने ,क्यास रहित कारोवार विकास गर्दै जाने, मानवीय र स्रोतको अधिकतम प्रयोग गरी सदस्यको आर्थिक सामाजिक स्तरमा सुधार ल्याउन संस्थाले काम गर्ने लक्ष्य लिएको उनको भनाई छ।
संस्थाले युवा सदस्य लक्षित वित्तीय शिक्षा कार्यक्रम सञ्चालन गर्ने , युवा सदस्यहरुमा उद्यमशीलता विकास गर्ने ,त्यसका लागि उनीहरुलाई सिप विकास तालिम दिने, सदस्यको बीमा गर्ने र सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरी सहकारिताको महत्वको बारेमा सदस्यलाई जानकारी गराउने संस्थाले लक्ष्य लिएको छ । संस्थाका कोषाध्यक्ष नवराज घिमिरेले आर्थिक बर्ष २०७९।८० आर्थिक प्रतिवेदन सभामा पस्तुत गर्दै शेयर पुँजी ५ करोड ९१ लाख ९३ हजार , बचत संकलन ६१ करोड १५ लाख र ऋण लगानी ५९ करोड ९३ लाख पुगेको सभामा जानकारी दिए । संस्थाले गत आ.ब.मा २ करोड ६३ लाख ६४ हजार खुद नाफा आर्जन गरेको छ । जुन गत बर्षको तुलनामा १२.१५ प्रतिशतले बढी हो । संस्थामा ४ हजार ८ सय ४१ जना सदस्य रहेको छन् । संस्थाको जगेडा कोषमा ६ करोड ८५ लाख ५३ हजार रहेको छ भने अन्य कोषमा २ करोड १३ लाख र ऋण सुरक्षण कोषमा २ करोड ९२ लाख ९८ हजार रहेको छ । सभाले गत आ.व.को नाफाबाट सदस्यलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । संस्थाले संरक्षित पुँजी फिर्ता कोषमा ४९ लाख ४३ हजार रकम विनियोजन गरेको छ ।

















