सांग्रिला डेभलपमेन्ट बैंकले साइकल र्‍याली गर्दै

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसका अवसरमा जेठ १९ गते शनिबार बैंकले ‘इन्धन बचाऔं, वातावरण जोगाऔं,’ भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बिवाइडी तथा अन्य संध संस्थाहरुसँगको सहकार्यमा साइकल र्‍याली आयोजना गर्न लागेको छ । सो साइकल र्‍यालीमा सहभागी हुन चाहने इच्छुकले जेष्ठ १६ गते सम्म निशुल्क दर्ता गरी आफ्नो सहभागिताको सुनिश्चितता गर्न सकिने बैंकले जनाएको छ । उक्त साइकल र्‍याली जेष्ठ १९ गते बिहान ७ः०० बजे देखी सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिदगेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार, नयाँ बानेश्वर पानी ट्याङकी, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा पुगी समापन गरिने बैंकले जनाएको छ । यस साइकल र्‍यालीमा सांग्रिला डेभलपमेन्ट बैंकले वातावरण संरक्षण प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पु(याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ । वातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ भन्ने ‘इन्धन बचाऔं, वातावरण जोगाऔं’, नारा लिएर अगाडि बढेको यस किसिमका कार्यक्रमहरुलाई बैंकले निरन्तरता दिँदै जाने जनाएको छ । सो साइकल र्‍यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिसर्ट र भाग्यमानी एक जना सहभागीहरुलाई साइकल तथा अन्य बम्पर पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *