एनआरएन नागरिकताको नियमावली आउने तयारीमा छ- परराष्ट्रमन्त्री देउवा

काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा देउवाले गैरआवासीय नेपाली नागरिकताको नियमावली निर्माणका लागि परराष्ट्र, गृह र कानूनमन्त्रीबीच एक खालको सहमति भई नियमावली निर्माणको क्रममा रहेको र छिट्टै सार्वजनिक गरिने उल्लेख गरेकी छन् ।

संविधान र ऐन आइसकेको परिप्रेक्ष्यमा राजनीतिक अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकताको नियमावली आउन ढिलाइ भएको स्विकार्दै परराष्ट्र मन्त्री देउवाले अहिले मन्त्रीस्तरमा सहमति भई अन्तिम तयारी भइरहेको प्रष्ट पारिन् ।

बेल्जियमको लुभेनमा जनसम्पर्क समिति बेल्जियमले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री देउवाले अहिले प्रदान गरिँदै आएको गैरआवासीय नेपाली नागरिकताले संविधान प्रदत्त अधिकार व्यवहारमा उपभोग गर्ने वातावरण नबनेकोले छिट्टै नियमावलीको आवश्यकता सरकारले महसुस गरेको स्पष्ट पारिन् । सो कार्यक्रममा बोल्दै उनले एनआरएनएका बारेमा सर्वोच्च अदालतबाट आएका दुई निर्णयहरूमा तादम्यता नदेखिएकोले तेस्रो पक्षको उजुरीमाथिको निर्णय सरकारले कुरिरहेको पनि बताइन् ।

इन्टरनेसनल कोर्ट अफ जस्टिस (आईसीजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा सोमबार नेपालको भनाइ राख्न परराष्ट्र मन्त्री देउवा नेदरल्यान्ड्सको हेगको कार्यक्रममा आएकी थिइन्। राष्ट्रसंघको न्यायिक निकायका रूपमा रहेको यो न्यायालयले समसामयिक विवादास्पद मुद्दाको निरूपण र खास विषयमा परामर्श दिने कार्य गर्दै आएको छ ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी बेल्जियमका कार्यकर्ताहरूले परराष्ट्र मन्त्री देउवालाई प्रत्यक्ष रूपमा भेटेर ज्ञापन-पत्र दिन खोज्दा समय उपलब्ध नभएको गुनासो गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *