दक्षिण कोरियाका पूर्व रक्षामन्त्री किमद्वारा हिरासतमै आत्महत्याको प्रयास
काठमाडौँ । दक्षिण कोरियाका पूर्व रक्षामन्त्री किम योङ ह्युनले राति हिरासतमै आत्महत्याको प्रयास गरेका छन् ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार कानुन मन्त्रालयका एक अधिकारीले किम सियोल खतरामुक्त रहेको बताएका छन् । किमले सोलको डोङबु डिटेन्सन सेन्टरको बाथरूममा आत्महत्या गर्ने प्रयास गरेका थिए । उनको अवस्था अहिले खतरामुक्त छ । रिपोर्टका अनुसार यो घटना हुँदा प्रहरी टोलीले राष्ट्रपति युन सुक येओलको कार्यालयमा छापा मारिरहेको थियो । विशेष अनुसन्धान इकाईले मुलुकमा सशस्त्र कानून (इमर्जेन्सी) लगाउन राष्ट्रपतिको भूमिकाबारे अनुसन्धान गरिरहेको छ ।
यसअघि डिसेम्बर ९ मा राष्ट्रपति युनलाई देश छाड्न प्रतिबन्ध लगाइएको थियो । युन पदमा रहँदा देश छाड्न प्रतिबन्ध लगाइएका दक्षिण कोरियाका पहिलो राष्ट्रपति हुन् । दक्षिण कोरियामा, डिसेम्बर ३ मा, राष्ट्रपति युन सुक येओल र रक्षा मन्त्री किमले देशमा मार्शल ल लागू गरेका थिए । त्यसको दुई दिनपछि रक्षामन्त्री किमले मार्शल लको जिम्मेवारी लिएर पदबाट राजीनामा दिएका थिए ।
उनी मंगलबार राति पक्राउ परेका थिए । मार्शल ल प्रकरणमा पक्राउ पर्ने उनी पहिलो व्यक्ति हुन् । उनीमाथि विद्रोह, अधिकारको दुरुपयोगलगायत थुप्रै आरोप लगाइएको छ । सोल केन्द्रीय जिल्ला अदालतले बुधबार उनको गिरफ्तारीलाई अनुमति दिएको छ । उनले जेलबाट बाहिर हुँदा प्रमाण नष्ट गर्न सक्ने अदालतले स्वीकार गरेको थियो ।

















