राष्ट्रिय झण्डाको अपमान
यता केही समयदेखि राष्ट्रिय झण्डाको असम्मान गर्ने घटनाहरूमा वृद्धि हुँदै गएको छ । राष्ट्रिय झण्डालाई आपराधिक घटनामा मुछ्ने, त्यसको गरिमा घटाउने, मर्यादालाई नाघ्ने काम हुँदै गएको छ । राजनीतिक स्वार्थका लागि राष्ट्रिय झण्डाको दुरुपयोग भन्दा जघन्य अपराध अरू केही हुनै सक्दैन । त्यस्तो अपराधमा राजनीतिक दलहरू नै संलग्न हुने गरेका छन् । गणतन्त्र स्थापनापछि राष्ट्रिय झण्डाको गरिमा घटाउने कार्यमा क्रान्तिकारी भनिने दलहरू निरन्तर अग्रसर भइरहेका छन् ।
संविधानसभाको बैठकमै माओवादी संविधान सभा सदस्य देबबहादुर गुरुङले नेपालको झण्डा फेर्नुपर्ने तर्क समेत अघि सारेका थिए । त्यस यता नेपालको झण्डालाई अनेक तरिकाले दुरुपयोग हुँदै आएको छ । पछिल्लो पटक रवि लामिछानेका आपराधिक क्रियाकलापहरू छोप्न राष्ट्रिय झण्डाको गलत प्रयोग व्यापक रूपमा भइरहेको छ । हुन त राजाको पक्षमा हुने नारा जुलुसमा समेत राष्ट्रिय झण्डाको गलत तरिकाले प्रयोग हुने गरेको छ । त्यस्ता घटनालाई प्रोत्साहित गर्ने काममा सत्तारुढ दलहरू समेत लाग्ने गरेको पाइन्छ तर पछिल्लो पटक रविलाई बचाउन राष्ट्रिय स्वतन्त्र पार्टीले भने मर्यादाहीन तरिकाले राष्ट्रिय झण्डाको दूर प्रयोग लगातार गरिरहेको छ । राष्ट्रिय झण्डा भनेको राष्ट्रको गौरव हो, पहिचान हो, राष्ट्रको गरिमा रक्षा गर्ने एउटा आधार हो । कुनै राजकीय भ्रमणमा आएका विदेशी पाहुनाको स्वागत गर्न, विदेशमा देशको प्रतिनिधिलाई सम्मान गर्न राष्ट्रिय झण्डाको प्रयोग हुन्छ । तर अहिले राष्ट्रिय झण्डा लिएर अपराधीहरूको झुण्डले हुल हुज्जत गर्दा, पुलिसमाथि अभद्र व्यवहार गर्दा पनि सरकारले त्यसलाई नियन्त्रण गर्ने काम गरेको छैन ।
रास्वपा भनिने झुण्डले रवि लामिछानेलाई बचाउन गरेको प्रदर्शनपछि झण्डा सडकमा , नालीमा र फोहोरमा फालेर हिँडेको घटनाको सर्वत्र निन्दा र भर्त्सना भयो । त्यसमा पनि नेपाल सरकारले केही बोलेन । राष्ट्रको गौरवमा झण्डा फहराउने, शोकमा आधा झुकाउने, पुरै झुकाउने जस्ता कुरा सरकारको निर्णय बमोजिम हुन्छ । त्यसैले राष्ट्रिय झण्डा कसरी प्रयोग गर्ने भन्ने व्यवस्था सरकारी तजबिज अनुसार हुनु स्वाभाविक हुन्छ । तर अहिले राष्ट्रिय झण्डालाई अपराधी बचाउने प्रपञ्चमा बारम्बार दुरुपयोग हुँदै आइरहेको छ । रास्वपाले सङ्गठित रूपमा गरेको राष्ट्र विरोधी अपराधप्रति सरकार किन मौन छ । राष्ट्रिय झण्डाको अपमान राष्ट्र विप्लव हो । कानुनमा राष्ट्रिय झण्डाको अनादर गर्नेलाई के दण्ड सजायको व्यवस्था छ ? व्यक्तिगत रूपमा राष्ट्रिय झण्डाको अपमान गर्नेलाई के दण्ड हुन्छ र सङ्गठित रूपमै हुर्मत लिनेलाई के सजाय हुन्छ ? यसलाई सरकारले बेवास्ता गर्न मिल्छ कि मिल्दैन ? यो अत्यन्तै महत्त्वपूर्ण र गम्भीर प्रश्न हो । यसको उत्तर सरकाले दिनुपर्छ । उ यो प्रश्नबाट भाग्न मिल्दैन । सरकारले वा प्रतिपक्षले राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न पहल गर्नुपर्छ ।
अहिलेसम्म राष्ट्रिय झण्डा दुरुपयोगको आरोपमा मुद्दा चलाउने, कारबाही गर्ने काम अदालतले समेत गरेको छैन । यो राष्ट्रकै अपमान हो । यसलाई हल्का रूपमा लिँदा त्यसले राष्ट्रको गरिमामा पर्ने असरको जिम्मेवारी सरकारको हो । सरकार आफ्नो निहित स्वार्थको वशीभूत भएर यसरी अराजकता अनुशासन हीनता र बेथितिलाई प्रोत्साहन गरिरहन्छ भने राष्ट्रका अस्तित्व नै सङ्कटमा पर्न सक्छ । यसमा विचार पुग्नु जरुरी छ ।

















