नबिल बैंकको ४० औं वार्षिक साधारणसभा, १० प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । नबिल बैंकको ४०औं वार्षिक साधारणसभाले सेयरधनीका लागि १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ । साधारणसभाले सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् आर्थिक वर्ष २०८०।८१ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । समीक्षा वर्ष २०८०।८१ मा बैंकले ६ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप दायित्वमा ६६ अर्ब १० करोड रुपैयाँ अर्थात् १६.४१ प्रतिशतले वृद्धि भई ४ खर्ब ६८ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी ४६ अर्ब ३२ करोड अर्थात् १३.६५ प्रतिशत वृद्धि भई ३ खर्ब ८५ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । समग्रमा आव २०८०।८१ मा बैंकको वासलातको आकार १५।७६ प्रतिशतले वृद्धि भई ५ खर्ब ५७ अर्ब ०२ करोड पुगेको हो  । त्यस्तै, साधारण सभाले सञ्चालक समितिमा अनन्त पौड्याल र प्रविन टिवडेवालालाई निर्विरोध निर्वाचित गरेको छ । बैंकको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्ने दुई सञ्चालक पदका लागि भएको निर्वाचनमा पौड्याल र टिवडेवाला निर्विरोध निर्वाचित भएका हुन् ।

साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै आफ्नो बैंकिङ सेवालाई आधुनिकीकरण तथा विस्तार गर्दै आएको बताए । नबिलले विगतका वर्षहरूमा बाँडफाँड गरेको नगद लाभांश, बजार पुँजीकरण र जेथामा भएको अभिवृद्धिलाई दृष्टिगत गर्दा, शेयरधनीहरूले बैंकमा सुरु लगानी गर्दाको स्थापनाकालको चुक्ता पुँजी हालसम्म ९६० गुणाले वृद्धि भएको छ । बैंकले गत वर्ष नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट नेशनल बेस्ट प्रेजेन्टेड एन्युअल रिपोर्ट (गोल्ड अवार्ड), साउथ एसियन फेडरेशन अफ एकाउन्टेन्ट्सबाट मेरिट सर्टिफिकेट (बेस्ट प्रेजेन्टेड एन्युअल रिपोर्ट) लगायतका सम्मानहरू पनि प्राप्त गरेको छ । त्यस्तै गरी, नबिल बैंक यो वर्ष आर्थिक वर्ष २०७९।८० मा सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । योसहित बैंकले वित्तीय संस्था र बिमा कारोबार क्षेत्रका तर्फ आठौं पटक यो सम्मान प्राप्त गर्न सफल भएको हो । नबिलले देशभर २६८ शाखा सञ्जालसहित ३२० एटिएम मेसीनबाट सेवा प्रदान गर्दै आएको छ । यसका २४ लाखभन्दा बढी ग्राहक रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *