हिमाल भव्य मात्र होइन अत्यावश्यक जलवायु नियामकका रूपमा समेत रहिआएका छन्- वनमन्त्री शाही
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालहरू केवल भव्य मात्र नभई अत्यावश्यक जलवायु नियामकका रूपमा समेत रहिआएका बताएका छन्।
सगरमाथा संवादको उद्घाटन समारोहपछि भएको पूर्ण सत्रमा आज नेपालका तर्फबाट वक्तव्य दिँदै उनले नेपाललगायत हिमाली क्षेत्र द्रुतगतिमा बढ्दो जलवायु सङ्कटको अग्रपङ्क्तिमा रहेको उल्लेख गरे। उनले भने, “हाम्रो आँखै अगाडि हिमाली परिदृश्य रूपान्तरण हुँदैछ। हिमनदीहरू घट्दैछन्। पारिस्थितिकीय प्रणाली बदलिँदैछ। परम्परागत जीवनशैलीहरू उल्टिँदैछन्। यो स्थानीय नभई विश्वव्यापी सङ्कट हो।” विश्वका १४ मध्ये आठवटा अग्ला हिमालहरू भएको भूमि नेपालले यी प्राकृतिक धरोहरहरूको संरक्षण गर्ने पवित्र जिम्मेवारी बहन गर्दै आएको बताउँदै मन्त्री शाहीले मानवजातिको पाँच भागको एक भागलाई ताजा पानी, जैविक विविधता र आध्यात्मिक जीवनशक्ति प्रदान गर्दै आएको ‘तेस्रो ध्रुव’ का रूपमा परिचित क्षेत्रको महत्वपूर्ण हिस्साका रूपमा हाम्रा हिमालहरू रहेको उल्लेख गरे।
यतिबेला हिमालयदेखि एन्डिजसम्म, आल्प्सदेखि रकिजसम्म विश्वका हिमालहरू सङ्कटमा रहेको बताउँदै उनले उच्च पहाडी भूभागदेखि टापुसम्मै जोखिम विद्यमान रहेको धारणा राखे। “पर्वतमा जे सुरु हुन्छ, क्रमशः तल्लो क्षेत्रतर्फ बग्दछ र नदीको प्रभाव क्षेत्र, कृषिजन्य मैदानहरू र तटीय परिस्थितिकीय प्रणालीहरूलाई समेत असर गर्दछ,” मन्त्री शाहीले भने, “वास्तवमा, मानवजातिको भविष्य यी पहाडहरूको भविष्यसँग गाँसिएको छ। जलवायु सूचकहरूले खतराको सीमा पार गरिरहेका छन्। विश्व मौसम विज्ञान सङ्गठनका अनुसार सन् २०२४ विगत १७५ वर्षकै सबैभन्दा तातो वर्ष थियो।”
पर्वतीय क्षेत्रहरूको तापक्रम विश्वव्यापी औसतभन्दा दोब्बरले वृद्धि हुँदै गइरहेको कुरा जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आइपिसिसी) को छैटौँ मूल्याङ्कन प्रतिवेदनले पुष्टि गरिसकेको छ। हिमनदीहरू घट्दै जानेदेखि हिमतालहरू फुट्ने, हिमपहिरो, बाढी र बदलिँदो जलचक्रसम्मका जलवायु परिवर्तनका नकारात्मक परिणामहरू व्याप्त भएका छन्। पनि सम्भव रहेको र त्यसका लागि सामूहिक, निर्णायक र द्रुतकार्यबाट मात्र सम्भव रहेको उनको भनाइ थियो।
















