तीनकुने झडप प्रकरणमा प्रतिवादीको बयान सुरु

काठमाडौं । राजधानीको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनसँग सम्बन्धित मुद्दामा प्रतिवादीहरूबाट अदालतमा बयान लिन सुरु गरिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा दुर्गा प्रसाईँसहित ५० जना प्रतिवादीको बयान तथा थुनछेक सम्बन्धी बहस जारी छ। उनीहरूमाथि राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको हो। घटनापछि प्रहरीले विस्तृत अनुसन्धान गरी जेठ ९ गते प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो। त्यसको आधारमा सरकारी वकिल कार्यालयले आइतबार मुद्दा दर्ता गरेको हो। १५ चैतमा राजावादी समूहको प्रदर्शनले हिंसात्मक मोड लिँदा दुई जनाको ज्यान गएको थियो भने प्रहरीले चलाएको गोलीबाट २० जना घाइते भएका थिए। घटनामा दर्जनौँ अन्य नागरिक र सुरक्षाकर्मीसमेत घाइते भएका थिए।

यसैबीच, भाटभटेनी लुटपाट घटनामा संलग्न रहेको अभियोगमा ११ जनाको बयान र थुनछेक बहस पनि जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेको इजलासमा भइरहेको छ। उनीहरूलाई सरकारी वकिलले आपराधिक उपद्रव को कसुरमा अभियोजन गरेको छ। तीनकुने प्रकरणलाई लिएर सार्वजनिक चासो बढिरहेका बेला कानुनी प्रक्रियाले तीब्रता लिएको छ। अब अदालतले प्रतिवादीहरूको थुनछेक सम्बन्धी निर्णय कहिले दिने भन्ने प्रतीक्षा गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *