मधेस प्रदेश सरकार नेतृत्वमा कांग्रेसको दाबी

काठमाडौँ । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारका लागी दाबी गरेको छ । मधेस प्रदेशमा जाने कांग्रेसका हरेक शीर्ष नेताले सो सरकार आफ्नो पार्टीको नेतृत्वमा बन्ने दाबी गर्दै आएका छन् । शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि मधेस प्रदेशको सरकार अब काँग्रेसले नेतृत्व गर्ने दाबी गरे । नेपाली कांग्रेसको मधेस प्रदेश कार्यालयमा पुगेका सभापति देउवाले पत्रकारसँग कुरा गर्दै भने, ‘अब कांग्रेसको नेतृत्वमा यहाँ (मधेस प्रदेश) को सरकार बन्ने निश्चित भएको छ ।’ आलोपालो सरकार सञ्चालनको सहमतिअनुसार अबको पालो कांग्रेसको रहेको र चाँडै नै त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताए । यसअघि मधेस प्रदेश पुगेका गृहमन्त्री एवं रमेश लेखकले पनि कांग्रेसको नेतृत्वमा चाँडै सरकार बन्ने बताएका थिए । गृहमन्त्री लेखकले भनेका थिए,‘मधेस प्रदेशको सरकार पनि हामीले पालो पालो नेतृत्व गर्ने भनेर समझदारी गरेका छौँ । मधेस प्रदेशको सरकार पनि पालो पालो परिवर्तन गर्ने कुरा छ, परिवर्तन हुन्छ । लामो समयसम्म कांग्रेसको सरकार बनेन भन्ने कुरा छ । त्यसअघि पार्टीका महासचिव विश्व प्रकाश शर्मा पनि सिराहाको लहान पुगेको वेला मधेस सरकारको नेतृत्व अब कांग्रेसले गर्नुपर्नेमा जोड दिएका थिए । गत मंसिरमा उनले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वको सरकारको विकल्प खोजिने बताएका थिए । जनमत नेतृत्वको प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेकोले अब कांग्रेसको नेतृत्वमा सरकार बनाइने बताएका थिए । कांग्रेसका शीर्ष नेताहरूले दिने यस्तो अभिव्यक्तिले मधेस प्रदेशको राजनीतिक समीकरणमा नयाँ मोड ल्याउने देखिएको छ ।जनमत पार्टी स्रोतका अनुसार अध्यक्ष डा।सिके राउतले मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहलाई जुनसुकै बेला सरकार छाड्नुपर्ने अवस्था आउन सक्छ, त्यसका लागि तयार रहन भनी सकेका छन् । स्रोतले भन्यो, ‘सम्भवतः मधेस प्रदेशको बजेट ल्याएर जनमत पार्टीका मुख्यमन्त्री सिंहले राजीनामा दिन सक्ने सङ्केत देखाइ सकेको छ ।कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिले पनि मधेस प्रदेश सरकारको बारेमा पटक पटक कुरा उठाउँदै आएका छन् ।

मधेस प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने कुरा प्रदेशदेखि केन्द्रसम्म उठाउँदै आएका थिए । उनले पनि विभिन्न औपचारिक अनौपचारिक कार्यक्रममा यो कुरा भन्दै आएका थिए । अब त जनमत पार्टीले सरकार छाड्ने बेला पनि भइसकेको छ । गठबन्धनमा मधेस प्रदेशको सरकार एक–एक वर्ष नेतृत्व गर्ने सहमति भएका थियो । सो सहमति अनुसार जनमत पार्टीको पालो सकिएको छ । जेठ २५ गते जनमत पार्टीको नेतृत्वमा सरकार बनेको थियो । सो सरकारले आइतबार एक वर्ष पुरा गर्दैछ । सो सहमति अनुसार जनमत पार्टीले सरकार छाड्नुपर्ने कांग्रेसले दाबी गर्दै आएको छ । मधेस प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । सम्भवतः बजेट प्रस्तुत गरेर मुख्यमन्त्री सिंहले राजीनामा गर्ने अवस्था रहेको जनमत पार्टीकै कतिपय नेताहरू बताउँछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *