कार दुर्घटनापछि जीवनमा १२ वर्ष पछाडि फर्किए एक डाक्टर

सन् २०१३ मा इटालीका तत्कालीन एकजना प्रसिद्ध डा. पिएरदाँते पिच्चोनीको जीवन पूर्ण रुपमा परिवर्तन भयो जब उनी एउटा भयानक सडक दुर्घटनामा परे । उक्त दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लाग्यो । केही समयपछि उनी होसमा त आए। तर, त्यसबेला उनी १२ वर्ष अघिको समयमा फर्किसकेका थिए । दुर्घटनापछि होसमा आउँदा २०१३ चलिरहेको थियो, तर उनलाई अहिले सन् २००१ चलिरहेको छ जस्तो लाग्न थाल्यो । त्यस समयमा डा. पिच्चोनी इटालीको उत्तरी सहर लोदीस्थित एक अस्पतालको आपतकालीन विभाग ९इमर्जेन्सी० का प्रमुख थिए । उनी आफ्नो काममा दक्ष, अनुशासित र शीघ्र निर्णय लिन सक्ने डाक्टरको रूपमा चिनिन्थे । तर दुर्घटनापछि सबै कुरा बदलियो । जब उनी कोमाबाट बाहिरिए, उनले आफ्नी श्रीमतीलाई समेत चिन्न सकेनन् । अनि आफ्ना बढिसकेका छोराहरूलाई समेत अझै साना बालक नै भएजस्तो सम्झिए । वास्तवमा, उनले विगत १२ वर्षको आफ्नो जीवन नै पूर्ण रुपमा बिर्सिसकेका थिए । उनका लागि त्यो अनुभव अति नै अनौठो र डरलाग्दो थियो । नयाँ प्रविधिहरू, स्मार्टफोनहरू, सामाजिक परिवर्तनहरू जस्ता सबै कुरा उनका लागि नयाँ थिए । उनले त्यसबेला आमालाई भेट्ने इच्छा व्यक्त गरे । जबकि उनकी आमाको निधन धेरै वर्षअघि भैसकेको थियो । उनले आफ्नै आमाको मृत्यु भएको कुरा पनि बिर्सिए । अनि आमाको मृत्यु भएको कुरा बल्ल जानकारी पाएजस्तो गरेर उनी स्तब्ध भए । तथापि यस्तो मानसिक आघातका बाबजुद पनि डा. पिच्चोनीले हार मानेनन् । उनले आफूलाई पुनः चिन्ने प्रयास गर्न थाले । पुराना इमेलहरू पढे, डायरीहरू पल्टाए, परिवारका पुराना भिडिओ र फोटो हेरे, अनि आफ्नो विगतका केही झल्कोहरू सम्झिन थाले। ऋाफू पहिलेजस्तो नभएको कुरा उनले स्वीकार गरे । अनि अब आफू अझै संवेदनशील र अरूको पीडा बुझ्न सक्ने व्यक्ति बनिसकेको भन्ने आत्मबोध गरे । उनले आफ्नो यो जीवनको अनौठो यात्रा शब्दमा पनि उतारेका छन् । उनले लेखेको आफ्नो आत्मकथाः मेनो डोडीची (माइनस १२) इटलीमा निकै लोकप्रिय बन्यो । यसै कथामा आधारित टेलिभिजन सिरिज डोक(नेल्ले तुए मानी बनाइयो । पछि टेलिभिजन च्यानल फक्सले पनि यसै विषयमा आधारित अमेरिकन टेलिभिजन शो सुरु गर्‍यो, जुन विश्वभर लोकप्रिय बन्यो । डा. पिच्चोनी अहिले डाक्टरको रूपमा कार्यरत छैनन् । तर, उनी मानिसहरूलाई आफ्नो कथा सुनाउँदै मानसिक स्वास्थ्य, ट्रमा र जीवनको नयाँ सुरुवातबारे जागरूकता फैलाइरहेका छन् । त्यो दुर्घटना आफ्नो लागि जीवनको दोश्रो मौका रहेको र जीवनलाई पुनस् बुझ्ने अवसर प्राप्त गरेको उनी बताउँछन् । वास्तवमा उनको कथा केवल एउटा दुर्घटनाको कथा मात्र होइन, बरु त्यस्ता व्यक्तिको पनि कथा हो जसले आफ्नो अतीत गुमाएपछि पनि जीवनलाई नयाँ अर्थमा पत्ता लगाए । आज पनि उनी विश्वभरका ती सबै मानिसहरूको लागि प्रेरणा बनेका छन्, जो जीवनका कठिन परिस्थितिसँग जुझिरहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *