बागमतीका मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले साउन २७ गते विश्वासको मत लिने भएका छन् ।
एमाले–कांग्रेस गठबन्धनबाट साउन २० मा मुख्यमन्त्री नियुक्त भएका बानियाँले २७ गते विश्वासको मत लिने तयारी गरेका हुन् । मुख्यमन्त्री बानियाँले साउन २७ का लागि विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाउन सभामुख भुवनकुमार पाठकलाई आग्रह गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । उनले ३० दिनभित्र अर्थात भदौ १८ गतेसम्म सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने छ । जसकारण मुख्यमन्त्री बानियाँले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिने प्रस्ताव अघि बढाएका हुन् ।
गत साउन २० मा नेपालको संविधानको दफा १६८ को उपधारा २ बमोजिमको सरकारको नेतृत्व गरेका मुख्यमन्त्री बानियाँले २७ गते विश्वासको मत लिनका लागि संसद् बैठक आह्वान गर्न जानकारी गराइसकेका छन् । कांग्रेस बागमती प्रदेश सभापति समेत बानियाँ कांग्रेसका ३७ र एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा साउन २० मा मुख्यमन्त्री बनेका थिए ।
बानियाँले आफ्नै दलका नेता बहादुरसिंह लामामाथि संसदीय दलमा अविश्वास प्रस्ताव राखेर पारित गर्दै दल नेताको निर्वाचनमा लामालाई पराजित गरेर दल नेता बनेका थिए ।
















