कांग्रेस महाधिवेशन पुस २६ देखि २९ मा हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २९ मा हुने भएको छ । असोज २८ देखि महाधिवेशनको विवादमा अल्झिएको कांग्रेसले सभापति शेरबहादुर देउवाको निर्देशन बमोजिम निकास निकालेको हो । आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको छलफलबाट पार्टी सभापतिको आग्रह बमोजिम कार्यतालिका प्रस्ताव तयार पारेका छन् । सोमबारको केन्द्रीय समिति बैठकमा कार्यतालिकासम्बन्धी प्रस्ताव कार्यवाहक सभापति खड्काले नै पेस गर्नेछन् ।

यसअघि महामन्त्री र सहमहामन्त्रीका अलगअलग प्रस्ताव पेस भएकाले सहमतिको प्रस्ताव कार्यवाहक सभापति खड्काले नै पेस गर्न लागेको स्रोतले जानकारी दिएको छ । कार्यवाहक सभापतिको प्रस्ताव छलफलका लागि नभएर निर्णयार्थ पेस हुन लागेको स्रोतको दाबी छ । जसरी संसदमा टेबुल गर्दा मन्त्रीले प्रस्ताव राख्छन् र अन्त्यमा निर्णयार्थ पेस गर्दा सभामुखले प्रस्ताव राख्छन् त्यसरी नै निर्णयार्थ कार्यवाहक सभापतिले प्रस्ताव राख्न लाग्नुभएको हो, स्रोतले भन्यो, त्यसमा कसैको विमति आएछ भने मतविभाजनबाट निर्णय हुनेछ । कार्यवाहक सभापति खड्काले अझै आवश्यक नेताहरूसँग छलफल गरी प्रस्ताव सर्वसम्मत गर्ने गरी समझदारी भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *