रिलायन्सले पायो आईपीओ निष्कासन अनुमति
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स मजदुरमैत्री उद्योगका रूपमा स्थापित छ । यति लामो यात्रामा मजदुरद्वारा न बन्द–हडताल, न त कुनै असन्तुष्टिको आवाज र अवरोध । सुनसरीको खनार र दुहबीमा कारखाना स्थापना गरेर सञ्चालन भइरहेको यस उद्योगमा करिब चार हजार जनशक्ति कार्यरत छन् । प्रतिष्ठित औद्योगिक घराना गोल्याण ग्रुपअन्तर्गत सञ्चालित रिलायन्स स्पिनिङ मिल्समा अब सर्वसाधारणको पनि हिस्सेदारी हुने भएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार आईपीओ निष्कासनको अनुमति दिएसँगै एक अर्ब ७० करोड पुँजी भएको रिलायन्समा सर्वसाधारण पनि सेयरधनी बन्ने भएका हुन् । साथै, नेपालको प्रमुख निर्यातमूलक उद्योग रिलायन्स अब नेपाल स्टक एक्सचेन्जमा सूचीकृत हुने प्रक्रियामा प्रवेश गरेको छ । रिलायन्स उत्कृष्ट रोजगारदाता कम्पनीका रूपमा चिनिन्छ । कम्पनीमा कार्यरत चार हजार जनशक्तिमध्ये करिब करिब एक हजार तीन सय महिला छन् । उद्योग परिसरमा महिलाका लागि स्तनपान कक्ष, बालबालिकाका लागि डे केयर सेन्टर र कर्मचारीका छोराछोरीका लागि १२ कक्षासम्म अध्ययनको व्यवस्था दिइँदै आएको छ । उद्योगपरिसरमै कर्मचारीका लागि सुविधा सम्पन्न लेबर कोलोनी, खेलमैदान, आधुनिक क्यान्टिन, एम्बुलेन्ससहित विशेषज्ञ डाक्टरको सुविधा पनि उपलब्ध छ । ‘मजदुरमैत्री’ उद्योगको पहिचान बनाएको रिलायन्स निरन्तर नाफामा गइरहेको कम्पनी हो । कम्पनीद्वारा सार्वजनिक वार्षिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८१।८२ मा खुद नाफामा आठ सय ४५ प्रतिशतले वृद्धि गरेको छ ।
कुनै पनि कम्पनीले कच्चा मालको लागत, कर्मचारीको तलब, ब्याज भुक्तानी, करलगायत खर्च तिरेपछि बचेको रकम खुद नाफा हो । कम्पनीले गत आवमा ४७ करोड ६३ लाख ७८ हजार ८६० रुपैयाँ खुद नाफा कमाएको कम्पनीद्वारा सार्वजनिक वार्षिक वित्तीय विवरणमा उल्लेख छ । अघिल्लो आवमा कम्पनीको खुद नाफा पाँच करोड तीन लाख ८३ हजार ७९३ रुपैयाँ रहेको थियो । दुई आर्थिक वर्षको तुलना गर्दा कम्पनीको खुद नाफामा ८४५ प्रतिशतले वृद्धि भएको देखिन्छ । नौ हजार स्पिन्डल क्षमताबाट सुरु भएको रिलायन्स स्पिरिङ मिल्स हाल एक लाख दुई हजार ८२४ स्पिन्डलको जडित क्षमतासहित सञ्चालन भइरहेको छ । सुनसरीको खनार र दुहबीमा उद्योगका दुईवटा धागो कारखाना छन् । उद्योगले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्सचर्ड यार्न उत्पादन गर्दै आएको छ । उद्योगका उत्पादन नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् । कम्पनीको वार्षिक पाँच करोड अमेरिकी डलरबराबरको निर्यात गर्छ । यसले मुलुकको समग्र अर्थ प्रणालीमा आयात तथा निर्यातमा सन्तुलन कायम गर्न महत्त्वपूर्ण योगदान दिने गरेको आर्थिक क्षेत्रका विज्ञहरू बताउँछन् । तीन दशक लामो विरासत बोकेको रिलायन्सको नेतृत्व हाल गोल्याण समूहका तेस्रो पुस्ताका प्रतिनिधि अक्षय गोल्याणले गरिरहेका छन् । उद्योगले अन्तर्राष्ट्रिय बजारमा समेत विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ । उद्योग तथा वाणिज्य क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल सरकारले गत असारमा स्पिनिङ मिल्सका नेतृत्वकर्ता अक्षयलाई ‘महत्त्वपूर्ण वर्ष व्यक्ति’ (सीआईपी) बाट सम्मान गरेको थियो ।
















