भारतीय टिमलाई साफ क्लब महिला च्याम्पियनसिपको उपाधि

काठमाडौं । घरेलु टिम एपीएफ क्लबलाई ३–० ले हराउँदै भारतको लिग च्याम्पियन इस्ट बंगालले साफ क्लब महिला च्याम्पियनसिपको उपाधि उचालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आठ हजार २५३ समर्थकमाझ भएको फाइनल खेलमा इस्ट बंगाललाई उपाधि दिलाउन कप्तान फजिला इक्वापुटले दुई गोल गरिन् । सिल्किदेवी हमामले एक गोल गरिन् । खेलको २२औँ मिनेटमा फाजिलाले टिमलाई अग्रता दिलाएकी थिइन् । उनले टिमकी सरिता युम्नामको पासमा बललाई जाली चुमाइन् । एपीएफकी रक्षक मनमाया दमाईंले देब्रे भागमा १८ यार्ड बक्सनजिकबाट हेडर ‘क्लियर गर्न नसकेको बललाई फजिलाले नियन्त्रणमा लिँदै अर्की रक्षक गीता रानासँगै गोलकिपर अञ्जना रानामगरलाई बिट गरिन् ।

योसँगै इस्ट बंगाल प्रतियोगितामा एपीएफको ‘क्लिन सिट तोड्ने एक मात्र टिम बन्यो । पहिलो गोलपछि लगातार आक्रमण बुनेको इस्ट बंगालले ३५औँ मिनेटमा अग्रता दोब्बर बनायो । सिल्कीदेवीले पाहुना टिमको अग्रता दोब्बर बनाएकी हुन् । आशालता देवीले राइट साइटबाट गरेको क्रसलाई उनले दर्शनीय टप कर्नर हेडर गोल गरिन् । ४६औँ मिनेटमा फाजिलाले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ३–० को अवस्थामा पुर्‍याइन् । १८ यार्ड बक्सनजिकबाट उनले गरेको मध्यम प्रहार अञ्जनाको हातबाट फुस्कँदै बलले जाली चुमेको थियो । एपीएफले खेलभर कुनै पनि गतिलो आक्रमण बुन्न सकेन । तेस्रो मिनेटमा रश्मीकुमारी घिसिङले सुनौलो अवसर गुमाइन् । उनले पेनाल्टी बक्सभित्र टिमकी रक्षक हीराकुमारी भुजेलले दिएको क्रस नियन्त्रणमा लिन नसक्दा एपीएफको पहिलो आक्रामण डरलाग्दो बन्न सकेन । २३औँ मिनेटमा अञ्जनाले एपीएफको खतरा टारिन् । अञ्जनाले इस्ट बंगालकी रेस्टी नान्जिरीले पेनाल्टी बक्सभित्र गरेको मध्यम प्रहारलाई नियन्त्रणमा लिएकी थिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *