एम्बुलेन्सबाट गाँजा ओसारपसार,दुई जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले आइतबार राति करिब साढे ११ बजे मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई फायर गरी एम्बुलेन्समा लोड गरिएको गाँजा नियन्त्रणमा लिएको हो । प्रहरीले दुई जनालाई पनि पक्राउ गरेको छ । शनिबार राति पनि मोरङको जहदा गाउँपालिका–२ तारिगामामा एक राउण्ड हवाई फायर गरी गाँजा ओसारपसारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । आइतबार राति धनकुटाबाट मोरङतर्फ आउँदै गरेको प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई प्रहरीले केराबारी–५ लाफा टोलमा रोक्न खोजेको थियो ।

प्रहरीलाई देख्नासाथ एम्बुलेन्स चालक धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३५ वर्षीय निश्चल राई र एम्बुलेन्समा सवार साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बू भागेका थिए । त्यसपछि प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको थियो । मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालका अनुसार एम्बुलेन्समा सवार दुवै पक्राउ परेका छन् । एम्बुलेन्समा लोड गरिएको ४८० किलो हाराहारी गाँजा पनि बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले शनिबार जहदा गाउँपालिका–२ तारिगामाबाट गोली चलाएर ३ सय ३० किलो गाँजासहित भारीय नागरिक २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई पक्राउ गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *