रविसँगै सहकारी ठगीमा जोडिएका पूर्वडीआईजी जोशी किन थुनामै ?
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्तलगत्तै राजनीतिमा सक्रिय छन् । बुटवलको सुप्रिम सहकारी तथा विभिन्न पाँचवटा सहकारीको रकम अपचलन गरेको आरोप खेपिरहेका लामिछाने गत वर्षदेखि पुर्पक्षका लागि थुनामा थिए । तर, पुस ३ गते सहकारीको बचत रकम ठगी तथा संगठित अपराध मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासको धरौटी रकम बुझाएर रिहा गर्ने आदेश गरेपछि उनी थुनामुक्त भएका थिए । थुनामुक्त भएलगत्तै लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहदेखि कुलमान घिसिङसम्मलाई रास्वपा पार्टीमा प्रवेश गराइसकेका छन् । घिसिङ रास्वपाका उपसभापति र बालेन भावी प्रधानमन्त्रीसहित रास्वपाकै दोस्रो तहका नेताका रूपमा रास्वपामा समाहित भएका छन् । तर, रविसँगै उस्तै प्रकृतिको मुद्दा खेपिरहेका अर्का आरोपी पूर्वडीआईजी छविलाल जोशीलाई भने रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी हाल थुनामै छन् । जोशी गत असोज ६ गते पक्राउ परेका थिए । जोशी र लामिछाने दुवै ग्यालेक्सी टेलिभिजन सञ्चालक हुँदा गितेन्द्रबाबु राई (जीबी)ले सञ्चालन गरेको सुप्रिम सहकारीदेखि पोखराको सूर्यदर्शन सहकारी, चितवनको सहारा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको खुलेको छ । सहकारीको रकम अपचलन गर्ने र टेलिभिजनका मुख्य सञ्चालक जीबी राई भने अझै फरार छन् । रवि लामिछाने नै जोडिएका विभिन्न सहकारी ठगीमा जोडिएका एक दर्जनभन्दा बढी आरोपी भने पोखरादेखि रुपन्देहीसम्मका विभिन्न कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।
सुप्रिम सहकारीको रकम अपचलन आरोपमा लामिछानेसहित चारजना व्यक्तिलाई १० करोड ९९ लाख ३६ हजार रूपैयाँ सामूहिक बिगो कायम गरिएको थियो । लामिछानेले आफ्नो भागमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रूपैयाँको बैंक ग्यारेन्टी भने गत साउन २२ गते नै बुझाइसकेका थिए । गत माघ १३ गते जिल्ला अदालत रूपन्देहीको आदेशपछि एक करोड रुपैयाँ धरौटी जम्मा गरेर लामिछाने रिहा भएका थिए । पछि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्लाको आदेश बदर गरिदिएपछि भने उनी पुनः थुनामा पुगेका थिए । पछि लामिछाने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चसमेत पुगेका थिए । तर, सर्वोच्चले उच्चकै आदेश सदर गरिदिएपछि एक वर्षदेखि थुनामा थिए । पुस ३ मा उच्च अदालतका न्यायाधीशहरू वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले दुई करोड ७४ लाख ८४ हजार रूपैयाँ बिगो रकम सुरक्षित गर्ने र बिगो बमोजिमको धरौटी रकम बुझाएर छाड्ने आदेश गरेपछि लामिछाने थुनामुक्त भए । तर, जोशीको रिहाइ भने अझै कानुनी प्रक्रिया नै जारी छ । रविको जस्तै जोशीले १० करोड ९९ लाख ३६ हजारमध्ये आफ्नो भागमा पर्ने रकमबारे तिर्ने ग्यारेन्टीबारे कुनै प्रक्रिया नै चलाएका छैनन् । उनी गुमनाम थुनामा छन् ।

















