उज्यालो नेपालका अध्यक्षले छुट्टै समानुपातिक सूची बुझाउन खोजे,सूचीमा कुलमानका भान्जा र ससुराको नामसमेत परेको भन्दै व्यापक विरोध

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गर्ने सहमति गरिसकेको उज्यालो नेपाल पार्टीले फागुन २१ को निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची छुट्टै बुझाउन खोजेको पाइएको छ। ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालले केही दिनअघि रास्वपासँग मिल्ने सहमति गरेको थियो। सहमतिपत्रमा हस्ताक्षर गर्ने पार्टी अध्यक्ष अनुपकुमार उपाध्याय नै शुक्रबार दिउँसो चार,पाँच जनाको टोलीसहित समानुपातिक सूची बुझाउन पाइन्छ कि पाइँदैन भनेर बुझ्न आएको निर्वाचन आयोग सम्बद्ध स्रोतले बताएको छ। कुलमानले सदस्यहरूलाई सोध्दै नसोधी रास्वपामा मिसिन गएको भनी पार्टीभित्रै विरोध भइरहेको छ। खासगरी पहिचानवादी नेताहरूले कुलमानको यो निर्णयमा आपत्ति जनाइरहेका छन्। त्यसैबीच पार्टी अध्यक्ष उपाध्यायले छुट्टै बन्दसूची बुझाउन आयोगमा सम्पर्क गर्नुले रास्वपासँगको एकतालाई लिएर उज्यालो नेपालभित्र चर्किएको असन्तुष्टि उजागर गरेको छ। स्रोतका अनुसार बन्दसूची बुझाउने अन्तिम दिन उज्यालो नेपालका केही नेताले राजस्व तिरेर निस्सा लिएका थिए। उज्यालो नेपालले अस्ति बन्दसूची बुझाउने शुल्क तिरेर निस्सा लिएको थियो। त्यही निस्साका आधारमा सूची बुझाउन पाइन्छ कि पाइन्न भनेर सोध्न आउनुभएको थियो, आयोग स्रोतले भन्यो, हामीले अब बन्दसूची बुझाउने प्रक्रिया सकिइसक्यो, अब पाइँदैन भनेर पठाइदियौं। उनका अनुसार आयोगले राजनीतिक दलहरूबाट बुझाइएको समानुपातिक सूची छानबिन गर्न सुरू गरिसकेको छ।

दिइएको समयमा नबुझाएको बन्दसूची अब बुझाउन पाइने कानुन छैन भनेर हामीले भन्यौं, आयोग सम्बद्ध स्रोतले भन्यो पुस १४ गते प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक सूची बुझाउने अन्तिम दिन उज्यालो नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सातबुँदे सहमति भएको थियो। सहमतिपछि रास्वपाको समानुपातिक सूचीमा उज्यालो नेपालका १४ जनालाई समेटिएको थियो। कुमालनले भने आफ्नो तर्फबाट १८ जनाको नाम राख्नुपर्ने माग गरेका थिए। रास्वपासँग सहमतिमा हस्ताक्षर गरेका उज्यालो नेपालका अध्यक्ष उपाध्यायको नाम पनि निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीमा समावेश छ। उज्यालोले आफू रास्वपामा मिसिएको भनी आयोगमा अद्यावधिक भने गराएको छैन। हामीले यसबारे सोध्न अध्यक्ष उपाध्यायलाई फोन गरेका थियौं। तर उनले फोन उठाएका छैनन्। उज्यालो नेपालका तर्फबाट समानुपातिक सूचीमा परेकी गायक त्रिशला गुरूङले आफ्नो नाम फिर्ता लिएको भन्दै सामाजिक सञ्जालमा लेखेकी छन्। सूचीमा कुलमानका भान्जा र ससुराको नामसमेत परेको भन्दै पार्टीभित्र व्यापक विरोध भएपछि उनले ती नाम फिर्ता लिने वचन दिएका छन्। यति मात्र होइन, सूचीको क्रमसंख्यामा आफ्ना उम्मेदवारहरूको नाम तल राखिएकोमा पनि उज्यालो नेपालभित्र असन्तुष्टि छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *