कर्मणा सहकारी संस्थाको २५ औं साधारण सभा सम्पन्न
ललितपुर । सातदोबाटोमा मुख्य कार्यालय रहेको कर्मणा बचत तथा ऋण सहकारी संस्थाको २५ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सहदेव बञ्जाराको सभापतित्वमा भएको साधारण सभाको प्रमुख अतिथि संस्थापक सदस्य देवी प्रसाद घिमिरे रहेका थिए । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारण सभा सम्बन्धी निर्देशनको पूर्ण पालना गर्दै सदस्यहरु माझ वार्षिक नीति तथा कार्यक्रम माथि व्यापक छलफल गरी सभा सम्पन्न गरेको हो । सभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बञ्जाराले सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थामा परिवर्तन गर्ने उदेश्यका साथ संस्थाले काम गर्दै आएको बताए । उनले वाह्य परिस्थिती प्रतिकूल रहेको अवस्थामा समेत संस्थालाई अझ क्रियाशिल र विश्वासिलो संस्था बनाउन नियमित कारोबार गरी सहयोग गरेकोमा सदस्यहरुलाई आभार व्यक्त गरे । अध्यक्ष बञ्जाराले सदस्यहरुलाई संस्थामा निरन्तर र नियमित कारोबार मार्फत सकारात्मक र रचनात्मक सल्लाह सुझाव समेत दिन सभामा आग्रह गरे ।
संस्थाले खुद नाफा बाँडफाँड अनुसार नै संरक्षित पूँजी फिर्ताकोषमा रकम व्यवस्था गरेकाले सक्रिय भई कारोबार गर्ने सदस्य लाभान्वित हुने हुँदा संस्थामा निष्कृय नभई सक्रिय कारोबार गर्न उनको भनाई छ । यस आ।व।मा संस्थाले नियमानुसार कर्जा नोक्सानी व्यवस्था गरी शेयर पूँजीको अनुपातले औसतमा ५ प्रतिशत भन्दा बढि खुद बचत गरेर नियमानुसार जगेडा कोष र कर्जा नोक्सानी कोषको व्यवस्था गरी शेयर लाभांश कोष र संरक्षित पूँजी फिर्ता कोषको वितरण मार्फत् सदस्यहरुलाई लाभान्वित गराउने प्रस्ताव सभाले पारित गरेको उनले बताए । संस्थाले ७० वर्ष भन्दा माथि उमेरका जेष्ठ सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिने, सहकारीको सहयोगमा साना उद्योग, व्यवसाय प्रवद्र्धनका लागि युवा वर्ग लक्षित सहकारी शिक्षा तथा तालिम र व्यवसायिक कार्यक्रम सञ्चालन गरिने र सदस्यका छोराछोरीलाई शैक्षिक क्रियाकलापमा छात्रवृतिका माध्यमले सहयोग पु¥याउने उनले सभामा जानकारी दिए । सभामा कोषाध्यक्ष प्रतिभा प्रदानले आर्थिक बर्ष २०८१।८२ को आर्थिक प्रतिवदन प्रस्तुत गर्दै २०५७ साल भाद्रमा २५ जना शेयर सदस्य र २५ लाख पूँजीबाट संस्था सुरु गरिएको बताइन् । उनले गत असार मसान्तसम्म संस्थाको शेयर पुँजी ५ करोड ५४ लाख, बचत संकलन ४९ करोड, ऋण लगानी ५३ करोड १९ लाख गरी कुल सम्पत्ति ६५ करोड पुगेको सभामा जानकारी दिइन् । संस्थामा २ हजार ३ सदस्य अवाद्ध रहेको भन्दै उनले संस्थाको जगेडा कोषमा ३ करोड १६ लाख पुगेको बताइन् । सदस्यहरुको समेत योगदानमा सदस्य हितकोष स्थापना गरिएको र उक्त कोषमा ८७ लाख ६६ हजार पुगेको जानकारी दिँदै उनले नियमित बचत मार्फत निश्चित उमेर पुगेका सदस्यलाई सामाजिक सुरक्षाका रुपमा बचत फिर्ता गर्ने योजना रहेको बताइन् ।
संस्थाले गत आवमा २८ लाख ३६ हजार खुद बचत गर्न सफल भएको छ । संस्थामा आवद्ध कुल सदस्य मध्ये सभामा १ हजार ६५० जनाको उपस्थिति रहेको थियो । संस्थाका सचिव रेवती प्रसाद घिमिरेले सञ्चालन गरेको सभामा उपाध्यक्ष विष्णु दाहालले स्वागत मन्तव्य राखेका थिए । संस्थाले लेखा समितिका सदस्य तथा लायन्स क्लब महिमाका लायन गणेश आचार्य र सामाजिक उपसमितिका संयोजक, सञ्चालक हरिप्रसाद दाहालको संयोजनमा गरेको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए । सो अवसरमा उत्कृष्ट नियमित कारोबार गरी योगदान गरेका १४ जना तथा सदस्यहरु मध्ये सबभन्दा कम उमेरका १ युवा सदस्य र लामो समयदेखि सदस्य रहेर हाल ७० वर्षको उमेर समूहका ११ जना जेष्ठ सदस्यलाई सम्मान गरिएको थियो । साथै संस्थामा लामो समय देखि कार्यरत रही निष्ठापूर्वक उल्लेखनिय योगदान गरेकोमा प्रवन्धक रमेश घिमिरेलाई कदर पत्र प्रदान गरिएको थियो ।
















