‘गोबर गणेश’ को ट्रेलर राम्रो भ्युजसहित ट्रेन्डिङ सूचीमा
मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) निर्देशित फिल्म ‘गोबर गणेश’को ट्रेलरले युट्युबमा लोभलाग्दो भ्युज प्राप्त गरेको छ। सार्वजनिक ट्रेलर छोटो समयमै राम्रो भ्युज बटुल्दै युट्युबको ट्रेन्डिङ मुभी ट्रेलर सूचीमा समेत पर्न सफल छ। नेपालमा युट्युब चार्टस्मा फिल्मको ट्रेलर सूचीको दोस्रो स्थानमा स्ट्रिमिङ भइरहेको हो। यो सूचीको पहिलो स्थानमा दक्षिण भारतीय फिल्म द राजा साबको ट्रेलर छ भने तेस्रोमा सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनीत फिल्म भाइरल गोर्खेको ट्रेलर स्ट्रिमिङ भइरहेको छ। चौथो स्थानमा थलापति विजय अभिनीत दक्षित भारतीय फिल्म जन नेताको ट्रेलर छ। ‘गोबर गणेश को ट्रेलरको कुरा गर्दा यसले दुई दिन पूरा नहुँदै आइतबार बिहानसम्म १८ लाखभन्दा बढी भ्युज बटुलेको छ। ट्रेलरलाई लिएर आएका दर्शक प्रतिक्रिया पनि सकारात्मक देखिन्छन्। दर्शकको यो मायाले ठूलो खुसी र हौसला दिएको छ , मरिचमानले भने, अब फिल्मले पनि दर्शकको अपेक्षा पूरा गर्नुपर्छ भन्ने जिम्मवारी बढेको छ। मेहनत गरेरै फिल्म बनाएका छौं। अब हलमा पनि दर्शकको माया पाउने विश्वास छ। ‘गोबर गणेश’ हाँस्य सामाजिक कथामा बनेको हो। यसको ट्रेलरमा पढाइमा कमजोर एक युवाको काठमाडौं यात्रा र संघर्षको कथा देखाइएको छ। फिल्ममा मरिचमान श्रेष्ठ (बल्छी धुर्बें), वर्षा शिवाकोटी, पदम तामाङ, पुजन घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, माओत्से गुरूङ, विशाल पहाडी, रमेश बुढाथोकी, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, बिनोद न्यौपाने, सन्तोष बानियाँलगायत कलाकारहरूको अभिनय छ। गोबर गणेशको प्रदर्शन मिति माघ १ गतेलाई तय छ।
















