कांग्रेसका भ्रातृ र शुभेच्छुकको संयुक्त अपिल– नेताहरू एकढिक्का हुनुस्

काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाका अध्यक्षले पार्टीका नेताहरूलाई एकढिक्का हुन अपिल गरेका छन् । संयुक्त अपिल जारी गर्दै उनीहरूले आउँदो फागुन २१ गते हुने निर्वाचनमा सबैलाई एकीकृत गर्दै परिणाम निकाल्न पनि आग्रह गरेका छन् । पछिल्लो समय देशमा आएको राजनैतिक संकट र नेपाली कांग्रेसमा देखिएको राजनीतिक तिक्तता नजिक बाट नियालिरहेका छौँ । हालको अवस्थामा देश र जनतालाई संकटमुक्त गर्न एकढिक्का भएर अघि बढ्न सबैमा आह्वान गर्दछौँ, संयुक्त अपिलमा भनिएको छ, नेपाली कांग्रेसका सभापति, पदाधिकारीहरू तथा सम्पूर्ण केन्द्रीय समितिको ध्यानाकर्षण गराउन चाहन्छौँ । उनीहरूले वैशाखको नियमित महाधिवेशन कुर्न पनि अपिल गरेका छन् ।

नियमित महाधिवेशनको मिति वैशाख २८ गतेदेखि ३१ सम्मका लागि तोकिसकेको र फाल्गुन २१ गते आमनिर्वाचन समेत सम्पन्न हुन गइरहेको परिप्रेक्ष्यमा पार्टी एकढिक्का भई बढ्नुको कुनै विकल्प छैन,” उनीहरूले भनेका छन्, यो समयमा सबै नेता–कार्यकर्ताहरू तथा शुभेच्छुकलाई संयमित भएर जिम्मेवारपूर्ण तरिकाले सबैको सहअस्तित्व स्वीकार गरेर सहमतिमार्फत नै अघि बढ्न अनुरोध गर्दछौँ । यही पुस २२ गते कांग्रेस केन्द्रीय कार्यालयमा प्रवेश गर्ने क्रममा पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधिलगायत नेतामाथि गरिएको अपमानजनक व्यवहारको उनीहरूले निन्दा पनि गरेका छन् । यस्ता व्यवहार कुनै पनि तहका नेता–कार्यकर्तामाथि नगर्न उनीहरूले अपिल गरेका छन् । संयुक्त अपिलमा नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल किसान संघ, नेपाल दलित संघका अध्यक्षले हस्ताक्षर गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *