महामन्त्रीद्वयसँग देउवाले नै वार्ता गर्ने,खड्का विशेष महाधिवेशनको समापनमा सहभागी हुने

काठमाडौं । चौतर्फी दबाबपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनमा होमिएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने भएका छन् । देउवा निवासमा भएको छलफलमा केन्द्रीय सदस्यहरुले सभापति देउवालाई आफैँ पहल लिन अनुरोध गरेका थिए । सभापति देउवाले केन्द्रीय सदस्यहरुको अनुरोधपछि प्रश्न गरेका थिए– रिसाएका छन्, मैले बोलाउँदा पनि आएनन् भने ?” तर सभापतिले बोलाउँदा महामन्त्री नआउने भन्ने नहुने र कुनै पनि हालतमा विशेष महाधिवेशनलाई एकताको बनाउनुपर्ने दबाब बढाएपछि देउवा वार्ताका लागि तयार रहेको छलफलमा सहभागी एक नेताले बताए । वार्ता हुन्छ, सौहार्दपूर्ण वातावरण बन्यो भने सभापतिज्यू आफैँ र नभए पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्का विशेष महाधिवेशनको समापन समारोहमा उपस्थित हुने भन्ने कुरा भएको छ, छलफलमा सहभागी एक नेताले भने । कांग्रेस नेता मीन विश्वकर्माले पनि सभापतिले नै महामन्त्रीहरुसँग वार्ता गर्ने बताए ।

उनले पनि वार्तापछि सौहार्दपूर्ण वातावरण बनेमा विशेष महाधिवेशनको सुखद समापन हुने बताए । भृकुटीमण्डपमा विशेष महाधिवेशनको रुप दिन कोसिस गर्नुभएको छ । त्यो विधानसम्मत भएन । भेला भएका साथीहरुको सम्मानका लागि कसरी शान्तिपूर्ण निष्कर्षमा पुर्‍याउन सकिन्छ भन्ने कुरा भयो, बैठकपछि बाहिरिएका उनले पत्रकारहरुसँग भने, सहमतिका लागि सभापति र कार्यवाहक सभापतिले विशेष महाधिवेशन पक्षधरहरुसँग वार्ता गर्ने भन्ने भएको छ । उनले दुवै पक्ष पार्टी विभाजनको पक्षमा नरहेको बताउँदै दुवैका तर्फबाट एकता कायम राख्ने भन्ने कुरा भएको उनले बताए । उहाँहरु पनि पार्टी विभाजन गर्ने मनसायमा हुनुहुन्न, उनले भने, पार्टीलाई एकता गरेर राख्न भेला बोलाउनुभएको हो । दुवै तर्फबाट एकता कायम राख्ने भन्ने देखिएको छ । छलफलमा सहभागी अर्का एक नेताले भने दुवैतर्फ केही नेताका कारण प्रयास सफल हुन नसकेको बताए । उहाँ (गगन–विश्व)हरुको टिममा पनि नयाँ नेतृत्व चयन गरेर जानुपर्छ भन्नेहरु हुनुहुन्छ, यता बैठकमा पनि गगन–विश्वलाई पार्टीमा नरहने वातावरण बनाउनुपर्छ भन्नेहरु देखिनुभयो, उहाँहरुको कारण समस्या भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *