बालेनले माघ ४ गते मेयर पदबाट राजीनामा दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आगामी माघ ४ गते पदबाट राजीनामा दिने भएका छन् । आगामी निर्वाचनमा प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने तयारीमा रहेका मेयर साहले राजीनामा दिने तयारी गरेका हुन् । निर्वाचन आयोगका अनुसार, माघ ६ गते प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको दिन छ । सो भन्दा अघि उनले मेयर पदबाट राजीनामा दिन लागेको उनी निकट स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार, उनले ४ गते मेयर पदबाट राजीनामा दिनेछन् । त्यसपछि उनी भोलिपल्ट रास्वपा केन्द्रीय कार्यालय घण्टीघर पुग्ने कार्यतालिका छ । लगत्तै, त्यहाँबाट उनी मधेश प्रदेश झर्ने बताइएको छ । मधेश लगायतका देशका विभिन्न ठाउँमा बालेनले आफ्नो सक्रियता बढाएको उनी निकटस्थहरूले बताएका छन् । मेयर साहले रास्वपासँग सहकार्य गरेर अघि बढ्ने र आफू प्रधानमन्त्रीको रुपमा निर्वाचनमा जाने सहमति गरेका थिए ।
















