कांग्रेस विभाजनबारे एमाले, नेकपा, रास्वपा र जसपाका नेताहरू के भन्छन् ?

नेपाली कांग्रेस अन्ततः विभाजनमा पुगेको छ । आज बसेको कांग्रेस केन्द्रीय समिति बैठकले महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेसँगै कांग्रेस विभाजन भएको ठानिएको छ । बैठकले विशेष महाधिवेशनको पक्षमा गएका अरु सबै नेताहरूले पुरानै जिम्मेवारीमा फर्किन आह्वान पनि गरेको छ । कांग्रेसमा भएको विभाजनले लोकतन्त्र, गणतन्त्र, संविधान र संघीयताका पक्षधरलाई नै कमजोर बनाउने नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले बताए । उनले भने, ‘कांग्रेस विभाजन हुँदा लोकतन्त्र, गणतन्त्र र संघीयता पक्षधर नै कमजोर हुने हो, जुन कुरा आज भएको छ ।’ जेन–जी आन्दोलनपछि संसद विघटन भएर नागरिक सरकार बनेको छ । यो सरकारले २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेको छ । राजनीतिक दलहरूले समानुपातिक सूची निर्वाचन आयोगमा बुझाइसकेका छन् । राजनीतिक पार्टीहरू निर्वाचनमा होमिएका छन् । तर, कांग्रेसको एक पक्षले विशेष महाधिवेशन आयोजना गरेपछि विवाद बढ्दै विभाजनको अवस्था आयो । कांग्रेस विभाजनको अवस्थामा पुग्नुले निर्वाचनमा पनि अन्योल आउने ‍पाण्डे बताउँछन् । उनले भने, ‘२१ फागुनमा हुने निर्वाचन अन्योलमा धकेलियो । यस्तो अवस्थामा निर्वाचन हुने सुनिश्चितता कमजोर बन्यो । अब के हुन्छ हुन्छ भन्ने भयो ।’ कांग्रेस सभापति शेरबहादुर देउवाले विदेशीको उक्साहटमा महामन्त्रीद्वय लाग्नुभएको होइन भने पार्टी विभाजन हुँदैन भन्नुमा पनि धेरै ठूलो अर्थ लुकेको पाण्डे बताउँछन् । उनले भने, ‘कांग्रेस यो अवस्थामा पुग्छ भन्ने सभापति शेरबहादुर देउवालाई थाहा भएको रहेछ । त्यही भएर उहाँले विदेशीको कुरा उठाउनुभएको रहेछ ।’ लोकतान्त्रिक शक्तिहरू मजबुत हुनुपर्ने समयमा विभाजन हुनु ठीक नभएको नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले बताए । उनले भने, ‘विभाजनले केही पनि पुर्‍याउँदैन । दुवै पक्ष संयमित भएर समीक्षा गरेर मिलेर जानुपर्छ ।’ पार्टीभित्रको लोकतन्त्र पनि बलियो हुनुपर्ने र घमण्ड र अतिवादले कहीँ पनि नर्‍याउने भट्टराई बताउँछन् । उनले भने, ‘लोकतन्त्रवादी शक्ति मिल्नुपर्ने समयमा आफैँमा विभाजन हुनु ठीक होइन । यसले धेरै ठाउँमा असर गर्न सक्छ । निर्वाचन राजनीतिक कुरा हो तर कानुनी कुराले असर गर्न सक्छ । राजनीतिक र कानुनी कुरा नमिल्दा निर्वाचनमा असर पर्न पनि सक्छ ।’ कांग्रेस विभाजन हुनु अप्रिय घटना भएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताए । उनले भने, ‘दुवै पक्ष मिलेर जानुपर्छ । संयमितता अपनाउनुपर्छ । लोकतन्त्रवादी शक्ति बलियो हुनुपर्छ, अनि मात्र लोकतन्त्र बलियो हुन्छ ।’ कांग्रेसको विभाजनले राजनीतिमा दीर्घकालीन असर पर्ने यादवको भनाइ छ । नेपालको सबै भन्दा पुरानो लोकतान्त्रिक पार्टी विभाजन हुनु राम्रो नभएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले बताए । उनले भने, ‘कांग्रेस विभाजन हुनु सबैका लागि दुःखद कुरा हो । राजनीतिक संस्कारबाट हेर्दा निरुत्साहित भएका छौँ । लोकतन्त्र बलियो हुँदैन ।’ कांग्रेसको अहिलेको विभाजन विचारमा नभएर संख्या र पदका लागि भएको झाले बताए । उनले भने, ‘पार्टीहरू विचारमा बहस गर्नु ठीक हो । तर, पदका लागि र संख्याका लागि विभाजन हुनु ठीक होइन । कांग्रेसको अहिलेको विभाजन संख्याका लागि भएको देखिन्छ, जुन दुःखद हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *