रविका मुद्दा फिर्ता लिन चलखेल भएको दाबीसहित महान्यायाधिवक्ताविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेविरुद्ध अदालतमा दर्ता भएका मुद्दा फिर्ता लिन गोप्य चलखेल भएको दाबीसहित महान्यायाधिवक्ता सविता भण्डारीमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपसहित काठमाडौंलगायत पाँचवटा जिल्ला अदालतमा मुद्दा चलाइएका लामिछानेविरुद्धका अभियोग फिर्ता लिन गोप्य चलखेल भएको आरोप लगाउँदै छानबिनको माग राखेर बुधबार पुस ३० सिन्धुलीका युवराज सफल (पौडेल) ले अख्तियारमा उजुरी दर्ता गरेका हुन् । उजुरीको दर्ता नम्वर ‘सी ०३८६१८’ रहेको छ । उजुरीमा लामिछानेका मुद्दा फिर्ता गराउन महान्यायाधिवक्ता भण्डारीले ‘विचौलियाहरूसँग गोप्य भेटघाट’ गरी आर्थिक लेनदेन गरेको दाबी समेत सफलले उजुरीमा गरेका छन् । महान्यायाधिवक्ता भण्डारीले रास्वपा सभापति लामिछानेलाई निवेदन दिन लगाएको दाबी पनि उजुरीमा गरिएको छ । मुद्दाहरू फिर्ता प्रक्रिया सम्पन्न गर्ने प्रक्रियामा ‘आर्थिक लेनदेन’ का लागि सहमति भएको सूचनाहरु आफुले पाएको दाबी उजुरीकर्ता सफलले गरेका छन् ।
लामिछानेको मुद्दा फिर्ता लिनेगरी उठाइएको फाइल तत्काल जफत गरी महान्यायाधिवक्ता भण्डारीलाई अख्तियारको नियन्त्रणमा लिएर अनुसन्धान कारवाही अघि बढाउन समेत उजुरीमा माग छ । ‘‘नियमित तरिकाले फिर्ता लिन पाउने मुद्दा फिर्ता लिन पाउने अधिकार भए पनि अदालतमा विचाराधीन रहेको मुद्दा आर्थिक प्र्रलोभनमा परेर फिर्ता लिन खोज्नु पदको दुरुपयोग भ्रष्टाचार नै हो,’ उजुरीमा उल्लेख छ । रास्वपा सभापति रवि लामिछानेले आफूविरुद्ध दायर भएका मुद्दा फिर्ताका लागि महान्यायाधिवक्ता कार्यालयमा पुरक निवेदन दिएका थिए । काठमाडौंलगायत पाँचवटा जिल्ला अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्वन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा कतिपय मुद्दा फिर्ताका लागि पुक निवेदन दिएका थिए । उच्च अदालत बुटबल इजलासबाट जमानतमा थुनामुक्तपछि केही दिन अघि अर्को निवेदन परेको थियो ।
















