अमेरिकाद्वारा नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा दिन स्थगित

वासिङ्टन । अमेरिकाको विदेश मन्त्रालयले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा आएर सरकारी सहायतामा निर्भर हुन सक्ने जोखिम देखिएको भन्दै यस्तो कदम चालेको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ । विदेश विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै आगामी जनवरी २१ देखि लागू हुने गरी कन्सुलर अधिकारीहरूलाई यी देशका आवेदकको भिसा प्रक्रिया रोक्न निर्देशन दिएको छ। यो निर्णय नोभेम्बरमा जारी गरिएको पब्लिक चार्ज सम्बन्धी कडा नियमको एक हिस्सा भएको मन्त्रालयले जनाएको छ। विदेश विभागका अनुसार अमेरिकी आप्रवासन प्रणालीको दुरुपयोग रोक्न र सरकारी कोषमाथिको भार कम गर्न यो नीति ल्याइएको हो। अमेरिकी जनताको सम्पत्तिबाट लाभ उठाउने खालका आप्रवासीहरूको प्रवेशमा कडाइ गर्न ट्रम्प प्रशासन प्रतिबद्ध छ, विभागको विज्ञप्तिमा भनिएको छ। मन्त्रालयले प्रक्रियाहरूको पुनरावलोकन गरेपछि मात्र भिसा प्रक्रिया पुनः सुचारु गर्ने वा नगर्नेबारे थप निर्णय लिने बताएको छ।
पर्यटक र विद्यार्थी भिसामा के हुन्छ ?
यो स्थगन केवल आप्रवासी (ग्रिनकार्ड पाउने) भिसाका लागि मात्र हो। अस्थायी रूपमा अमेरिका भ्रमण गर्ने पर्यटक, व्यवसायी वा विद्यार्थी भिसाका आवेदकहरूलाई भने यो नियमले प्रत्यक्ष रूपमा रोक्ने छैन। तर, यस्ता भिसा आवेदकहरूको हकमा पनि छानबिन प्रक्रिया अत्यन्त कडा पारिएको छ।
दूतावासहरूलाई पठाइएको गोप्य निर्देशन अनुसार, गैर(आप्रवासी भिसामा जानेहरूले पनि अमेरिकामा सरकारी सुविधा नलिने कुराको बलियो प्रमाण पेश गर्नुपर्नेछ। कन्सुलर अधिकारीहरूले अब आवेदकको उमेर, स्वास्थ्य अवस्था, आर्थिक स्रोत, शिक्षा, दक्षता र अंग्रेजी भाषाको ज्ञानलाई सूक्ष्म रूपमा मूल्याङ्कन गर्नेछन्। अधिकारीहरूले आवश्यक ठानेमा अंग्रेजी भाषामै अन्तर्वार्ता लिएर दक्षता परीक्षण समेत गर्न सक्नेछन्।
प्रभावित देशहरू
भिसा स्थगित गरिएका ७५ देशको सूचीमा नेपाल, भुटान, बंगलादेश, पाकिस्तान र अफगानिस्तान जस्ता दक्षिण एसियाली मुलुकहरू रहेका छन्। यस्तै रुस, इरान, इराक, सोमालिया, नाइजेरिया, ब्राजिल र क्युबा लगायतका देशहरू पनि यो सूचीमा परेका छन्। यो नयाँ व्यवस्थाका कारण अमेरिकामा रहेका आफ्ना परिवारका सदस्यसँग पुनर्मिलन गर्न पर्खिरहेका र रोजगारीका आधारमा अमेरिका जान चाहने हजारौँ नेपालीहरू प्रत्यक्ष प्रभावित हुने देखिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *