सहारा नेपाल साकोसको कुल सम्पत्ति २० अर्ब नजिक
काठमाडौं । बिर्तामोड २ चारपाने, झापामा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कुल सम्पत्ति २० अर्ब नजिक पुगेको छ। चालु आर्थिक वर्ष २०८२।८२ को पौष मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको कुल सम्पत्ति १९ अर्ब २२ करोड ७२ लाख रुपैयाँ पुगेको छ । संस्थाको बाह्य ऋण शून्य (० प्रतिशत) छ । वित्तीय विवरण अनुसार संस्थाको संस्थागत पुँजी करिब १ अर्ब ३७ करोड ३७ लाख ८३ हजार ६५७ रुपैयाँ (७.४१ प्रतिशत) बढी पुगेको छ । सहकारीमा संस्थागत पुँजी पर्याप्त हुनु भनेको नाफा, जगेडा कोष र अन्य कोषमार्फत संस्थाले आफ्नै आधार बलियो बनाउनु हो, जसले बाह्य दबाब र जोखिम न्यूनीकरणमा सहयोग पुर्याउँछ। संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कुल बचत करिब १४ अर्ब ८८ करोड २५ लाख रुपैयाँ संकलन गरेको छ भने लगानीमा रहेको कर्जा ११ अर्ब ७२ करोड ३९ रुपैयाँ रहेको छ । त्यस्तै, विभिन्न कोषमा ८० करोड ३१ लाख रुपैयाँ रहेको छ । संस्थामा तरलता प्रतिशत ३७।२२ प्रतिशत कायम छ। एक लाख ९५ हजार १९५ सदस्य रहेको सहारा नेपाल साकोसबाट ६४ हजार ४५० जना सदस्यले ऋण सेवा उपभोग गरिरहेका छन् ।
कुल सदस्य संख्याको उल्लेख्य हिस्सा कर्जा सेवामा समेटिनुले सहारा नेपाल साकोसले आफ्ना सदस्यको आर्थिक आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गरिरहेको देखाउँछ । यसले संस्थाले बचत संकलन मात्र नभई उत्पादनशील र आवश्यकतामा आधारित कर्जा प्रवाहमार्फत सदस्यको जीवनस्तर सुधार, उद्यमशीलता प्रवद्र्धन र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेलेको संकेत गर्छ। सानो–सानो रकम धेरै सदस्यसम्म कर्जा प्रवाह गर्नु सहारा नेपाल साकोसको जिम्मेवार कर्जा नीति, सुदृढ जोखिम व्यवस्थापन र दिगो सहकारी अभ्यासलाई झल्काउने पक्ष हो। सहकारी क्षेत्रका जानकारहरूका अनुसार यस्तो सन्तुलित कर्जा विस्तारले सदस्यलाई अनावश्यक ऋणभारबाट जोगाउँदै आवश्यकतामा आधारित आर्थिक सहयोग पुर्याउँछ भने संस्थाको वित्तीय स्थायित्व र भरोसा पनि मजबुत बनाउँछ।
















