दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको नाफामा छलाङ,नबिल बैंक अग्रस्थानमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमास सकिँदासम्म नेपालका वाणिज्य बैंकहरूको वित्तीय प्रदर्शन सुदृढ देखिएको छ। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले यस अवधिमा कुल ३० अर्ब ५९ करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि हो। गत आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्म बैंकहरूको कुल नाफा २७ अर्ब ४३ करोड रुपैयाँमा सीमित थियो। यस वर्ष भने नाफा ११.५१ प्रतिशतले बढ्दै ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ पुगेको छ। बैंकहरूले सार्वजनिक गरेका वित्तीय विवरणले बैंकिङ क्षेत्रमा क्रमशः सुधारको संकेत देखाएका छन्। नाफा आर्जनको प्रतिस्पर्धामा नबिल बैंक अग्रस्थानमा देखिएको छ। बैंकले ६ महिनामा आफ्नो नाफा ४६.७१ प्रतिशतले बढाएर ४ अर्ब ७५ करोड रुपैयाँ पुर्‍याएको छ। दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले पनि स्थिर वृद्धि कायम राख्दै नाफा ३ अर्ब २५ करोड रुपैयाँ पुर्‍याएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.५० प्रतिशत बढी हो। यस अवधिमा सबैभन्दा ठूलो उछाल कुमारी बैंकको नाफामा देखिएको छ।

बैंकको नाफा ८८६ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा कुमारी बैंकको नाफा २७ करोड रुपैयाँमा सीमित थियो। अन्य बैंकहरूको अवस्था हेर्दा, एभरेष्ट बैंक, प्राइम बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि नाफा बढाएका छन्। राष्ट्रिय वाणिज्य बैंकको नाफा त झन् १३२ प्रतिशतले बढेर १ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। यद्यपि एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र हिमालयन बैंकको नाफा भने घटेको देखिन्छ। पुष मसान्तसम्म सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक र माछापुच्छ्रे बैंकले नाफा वृद्धि गर्न सफल भएका छन्। विशेषगरी स्ट्यान्डण्र्ड चार्टर्ड बैंकको नाफा १५० प्रतिशतले बढ्नु उल्लेखनीय मानिएको छ। तर सबै बैंकको अवस्था समान भने छैन। कृषि विकास बैंक, सिटिजन बैंक र एनआईसी एशिया बैंकको नाफा घटेको छ भने लक्ष्मी सनराइज बैंक भने यस अवधिमा नोक्सानीमा रहेको छ। बैंकको ६ महिनाको वित्तीय विवरण अनुसार नाफा ऋणात्मक भई २७ करोड ३६ लाख रुपैयाँ घाटा देखिएको छ। समग्रमा हेर्दा, दोस्रो त्रैमाससम्मको वित्तीय नतिजाले वाणिज्य बैंकिङ क्षेत्रमा सुधारको संकेत दिएको छ। केही बैंकको नाफामा तीव्र वृद्धि देखिँदा केही बैंक अझै चुनौतीको सामना गरिरहेको स्पष्ट देखिन्छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *