चोरलाई चौतारो, साधुलाई शूली ! काँग्रेस–एमाले दृढतापूर्वक खडा हुनुपर्छ

काठमाडौँ । कुनै ठुलो दुर्घटना भएन भने फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन रोकिने सम्भावना देखिँदैन । तर, निर्वाचनको विश्वसनीयतामा भने प्रशस्त आशङ्का छ । धाँधली गर्ने, राज्य शक्तिको दुरुपयोग गरी जित्नेलाई हराउने र हार्नेलाई जिताउने षड्यन्त्रको योजना भने भित्रभित्रै तयार हुँदै छ । त्यसको छनक भने स्पष्ट रूपले देखिएको छ । झापामा प्रहरीको गाडी रास्वपा उम्मेदवार बालेन्द्र साहका कार्यकर्ता ओसारमा प्रयोग हुँदा पनि सरकार र निर्वाचन आयोग मौन बस्नुले चुनावको निष्पक्षता र स्वतन्त्रतामा गम्भीर शङ्का उत्पन्न गराएको छ । बालेन्द्र साहको चुनाव प्रचारमा भारतीय नम्बर प्लेटका गाडीहरूको आइरो लागेको मात्र होइन भारतीय सत्तारुढ दल भाकपाको झन्डावाल गाडी समेत प्रयोग भयो । रास्वपाको चुनाव प्रचारमा तराइका अधिकांश जिल्लामा भारतीय नम्बर प्लेटका गाडीको प्रयोग भइरहेको छ । नेपाली काँग्रेस, एमाले र नेकपा इमानदारीपूर्वक चुनावमा होमिइरहेको बेला सरकार संरक्षित रास्वपा अनेक नौटङ्की गरिरहेको छ । चुनाव प्रचारमा प्रयोग भएका गाडी अन्य उपकरण, सामाजिक सञ्जालमा तथानाम गालीगलौज गर्दा पनि निर्वाचन आयोगले किन सचेत गराएको छैन । निर्वाचन आयोग नै निष्पक्ष रूपमा प्रस्तुत नहुँदा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित रूपले चुनाव सम्पन्न हुने सम्भावना कमजोर हुँदै गएको देखिएको छ । चुनाव गराउने जिम्मेवारी बोकेको सुशीला कार्की नेतृत्वको सरकारको भूमिका नै शङ्कास्पद देखिनु र सुरक्षा निकायलाई एउटा पार्टीको चुनाव प्रचार संयन्त्रको रूपमा प्रयोग गर्न थाल्नुले अन्तिम अवस्थामा निर्वाचन नै भाँडिने हो कि भन्ने त्रास उत्पन्न थालिएको छ । कदाचित सरकार र निर्वाचन आयोगको पक्षपात पूर्ण रवैया र गैर कानुनी हर्कतलाई माफ गरिदिएर रास्वपा बाहेकका दलहरू चुनावमा गए नै भने यो चुनावले मुलुकको राजनीतिलाई अपराधीकरण तर्फ धकेल्ने निश्चित छ ।

सोसल मिडियालाई दुरुपयोग गर्दै अपराधीलाई चोख्याउने र लामो राजनीतिक जीवन भएका, देश र जनताका लागि ठुलो त्याग बलिदान र सङ्घर्ष गरेकाहरूको तेजोवध गर्ने ठेक्का लिएर जनतालाई गुम राह गर्ने काम रास्वपाका कार्यकर्ताहरूले गरिरहेका छन् । रास्वपाले चुनावी चर्चासँगै देखिएको तमासाले अब देशको अस्तित्वमाथि सङ्कट आउँछ भन्ने सङ्केत गरेको थियो । चुनावको चर्चासँगै जेल ब्रेक गरेर पुनः जेल गएका रवि लामिछानेलाई छुटाउने प्रपञ्च त्यही षड्यन्त्रको एउटा कडी थियो । त्यसपछि बालेन्द्र साह र कुलमान घिसिङसँगको नाटकीय एकता र कुलमानको पुनः बहिगंमनले यो रहस्यमयी धन्धावाल समूहप्रति झन् अन्योल पैदा गरिदिएको थियो । ‘जेनजी मुभमेन्टको नाममा अज्ञात समूहको नाम बेचेर सिङ्गो देश जलाएर राख बनाउने समूहलाई नै देशको तालाचावी सुम्पने वातावरण बनाउन नेपाललाई आफ्नो स्वार्थको औजार बनाउन चाहने विदेशी शक्तिहरू सारा शक्ति लगाएर खटेका छन् । भारतीय सञ्चार माध्यम र पश्चिमाहरूले बारम्बार व्यक्त गर्ने विचारले पनि त्यही सङ्केत दिन्छ । नेपालमा राजनीतिक पृष्ठभूमि नरहेका, विदेश बसेर आएका, अमेरिका, क्यानडा र युरोपियन मुलुकहरूको आवासीय अनुमति पत्र लिएकाहरूलाई चुनावमा खडा गर्ने, जिताउने र तिनीहरूसँगको सम्बन्धले मुलुकको गोपनीयता हात पार्ने षड्यन्त्र यस पटक सफल गर्न कोसिस भइरहेको छ ।

रास्वपालाई नै प्रयोग गरेर नेपालको राजनीतिलाई अपराधीकरण गर्ने र विदेशी स्वार्थको गोटीको रूपमा नेपाली राज्यसत्ताको प्रयोग गर्ने अन्तिम पटक प्रयास भएको देखिन्छ । राजनिित नबुझेका, सिद्धान्तको ज्ञान नभएका, अनुभव शून्य र उरन्ठेउलाहरूलाई अघि सारेर राजनीतिलाई तमासा बनाउने प्रयास यस अघिकै निर्वाचनमा आंशिक रूपले सफल भएको थियो । यस पटक चाहिँ भदौ २३ र २४ गते विदेशी षड्यन्त्रकारीका गोटीको रूपमा प्रयोग गरेर रास्वपाको परीक्षा लिएपछि, आर्थिक र भौतिक लगानीका साथ चुनावी मैदानमा उतार्ने जमर्को गरेको छ । त्यसका लागि लोकतन्त्र, समानता र स्वतन्त्रको लामो लडाइँ लडेका दलहरूलाई जनताको नजरमा गिराउन अनेक गलत प्रचारबाजी गरियो । रास्वपाका लाग्ने प्रायः जसो नेता कार्यकर्ताको पृष्ठभूमि आपराधिक भए पनि तिनीहरूलाई स्वतन्त्रता र मुक्तिको दूतको रूपमा स्थापित गर्न खोजियो तर काँग्रेस र एमालेमा लागेर निस्वार्थ रूपले जनताको सेवा गरेका नेता कार्यकर्तालाई खलनायकको रूपमा प्रचार गरियो । रवि लामिछाने, बालेन्द्र साह, स्वर्णिम वाग्ले, ढिपी अर्याल, सोभिता गौतम, कवीन्द्र बुर्लाकोटी समेत अधिकांश उम्मेदवार कुनै न कुनै काण्डमा फसेका नै छन् । तिनले प्रतिनिधिसभाको निर्वाचन जितेपछि देश र जनताको लागि गर्छन् चाहिँ के त ? अहिले बलात्कारीलाई अपराध होइन भनेर रास्वपाका नेताले भन्छ नेपाली जनताले हो त भनेर सही थाम्छ, कानुनतः अपराध मानिएको बहुविवाह गर्ने रास्वपा सांसदले कानुनी र सामाजिकरुपले उन्मुक्ति पाउँछ । बच्चा बेच्ने धन्धाका व्यक्ति रास्वपाले उपसभामुख बनाउँछ । गरिबलाई राजनीति गर्न दिनुहुँदैन भनेर त उसले अभियान नै चलाएको छ । पैसा र गुन्डा नहुनेलाई टिकट नदिने त रास्वपाको घोषित नीति नै रह्यो ।

काठमाडौँमा मेयर हुँदा डोजर आतङ्क मच्चाउने, श्रमजीवी गरिबलाई लखेट्ने, उनीहरूमाथि जङ्गली आक्रमण गर्ने बालेन्द्र साहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने पार्टीको औकात के हुन्छ अनुमान गर्न गाह्रो छैन । ‘फकिङ अमेरिका, फकिङ इन्डिया, फकिङ चाइना, फकिङ काँग्रेस, फकिङ एमाले, फकिङ माओवादी, फकिङ रास्वपा, फकिङ राप्रपा भनेर फेसबुक स्ट्याटस हाल्ने मूर्खमा कूटनीति र राजनीतिको ज्ञान कति होला र त्यस्तो व्यक्ति प्रधानमन्त्री भए देश रहला कि नरहला भन्न सकिँदैन । विदेशी शक्तिको डिजाइनमा त्यत्रो ठुलो डिजाइन भयो भदौ २३–२४ मा । अहिले भदौ २४ को महाविनाशलाई वैद्य बनाउने प्रपञ्च भइरहेको छ । त्यसको लागि रास्वपाको नाममा एउटा सिखाडी खडा गरिएको छ । यत्रो ठुलो षड्यन्त्रलाई काँग्रेस, एमाले लगायतका दलले त्यति गम्भीर घटना नठान्नु अर्को रहस्य बनेको छ । देश बचाउन, जनतालाई रैती वा विदेशीका दास बन्नबाट बचाउन काँग्रेस–एमालेले गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ । जनतालाई जागृत गराउने, कार्यकर्तालाई विशेष ढङ्गले प्रशिक्षित गर्ने, ठोस योजना र कार्यक्रम सहित देश, जनता र लोकतन्त्रको पहरे दारी गर्ने कुरामा काँग्रेस एमाले दृढतापूर्वक लाग्ने हो भने विदेशी षड्यन्त्र र त्यसका प्याराहरु सफल हुन नसक्ने पक्का छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *