नागरिकका गुनासा सम्बोधन गर्दै अब अपेक्षाअनुसारको समृद्धि दिने बाटोमा हामी छौँ : महामन्त्री पौडेल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस देशको विकासका लागि नेतृत्व लिन तयार रहेको बताएका छन् । नागरिकको अपेक्षाअनुसार नै पार्टी सुधारिएको भन्दै उनले अब सुधारिएको नेतृत्वले नै देश विकासको नेतृत्व लिने बताए । नेपाली कांग्रेससँग नागरिकका गुनासा छन्, उनले भने, अपेक्षा झन् धेरै छन् । नागरिकका गुनासा सम्बोधन गर्दै अब अपेक्षाअनुसारको समृद्धि दिने बाटोमा हामी छौँ । आमनिर्वाचन ०८२ का लागि देश विकासका भिजन समेटिएको घोषणापत्र तयार भइरहेको उल्लेख गर्दै उनले यसले नागरिकका चाहना सम्बोधन गर्दै देश विकासको अबको मार्ग चित्र तय गर्ने बताए । नागरिकको अपेक्षाअनुसार देश बदल्ने यात्रामा प्रमुख १० प्राथमिकता तय गरेर हामी अघि बढ्दै छौँ, तपाईं सबैको साथसहयोगको अपेक्षा गरेका छौँ । देशैभर कांग्रेस उमेदवारहरू चुनावी मैदानमा अघि बढिरहेको भन्दै उनले फेरिएको नीति र नेतृत्व दुवैले नयाँ ऊर्जा दिएको बताए । महामन्त्री पौडेलले काठमाडौं ५ को सांसदका रूपमा आफूले विगतमा इमानदार भएर क्षेत्र र राष्ट्रको विकास तथा नीति निर्माणमा काम गरेको स्मरण गरे । उनले विगतमा आफूले थालेका असल अभ्यासको निरन्तरता दिँदै अझ धेरै काम गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको पनि बताए ।
















