म्यानमारमा ‘स्क्याम सेन्टर’मा काम गर्ने १८ नेपालीलाई कैद सजाय

काठमाडौं । म्यानमारको एक अदालतले त्यहाँका ‘स्क्याम सेन्टर’मा काम गर्ने १८ जना नेपालीलाई एक वर्ष कैद सजाय सुनाएको छ । उनीहरूले एक वर्षसम्म म्यानमारका कारागारमा बसी श्रम पनि गनुपर्ने सजाय अदालतले सुनाएको छ । म्यानमारको विदेश मन्त्रालयबाट एक पत्रमार्फत १८ जना नेपालीलाई एक वर्षको कैद सजाय भएको जानकारी सोमबार (माघ १९ गते) प्राप्त भएको छ । एक वर्ष श्रम गर्नुपर्ने गरी सजाय तोकिएको छ । यस सम्बन्धमा के कसरी उनीहरूलाई यस्तो सुजाय सुनाइएको हो हामी बुझ्दै छौँ, म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले भने । एक वर्षको श्रमसहित कैद सजाय सुनाइएका १८ जना नेपाली सबै पुरुष भएको घिमिरेले बताए । म्यानमारको म्यावडी क्षेत्रमा गैरकानुनी तरिकाले सञ्चालित स्क्याम सेन्टरहरूमा कार्यरत उनीहरूलाई उद्धार गर्ने क्रममा म्यानमार प्रहरीले नियन्त्रणमा लिएको थियो । केही साताअघि थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासबाट एक टोली उनीहरूलाई उद्धार गर्न म्यानमार बोर्डरनजिक पनि गएको थियो । सोही क्रममा म्यावडीबाट थाइल्यान्ड सीमानजिक आइपुगेका उनीहरूलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिई मुद्दा अघि बढाएको थियो । यसरी सजाय पाउनेहरू विभिन्न प्रलोभनमा परी स्क्याम सेन्टरमा कार्यरत नेपाली छन्, राजदूत घिमिरेले भने । मानव तस्करले ठूलो संख्यामा नेपालीलाई विभिन्न प्रलोभनमा पारी म्यानमारको म्यावडी पुर्‍याउने गरेका छन् । म्यानमार र थाइल्यान्डस्थित नेपाली दूतावासले पटकपटक यस्तो प्रलोभनमा नपर्न भन्दै सूचना जारी गरे पनि जाने क्रम रोकिएको छैन । मानव तस्करले विभिन्न प्रलोभन देखाई कति नेपालीलाई दक्षिणपूर्वी एसियाली राष्ट्रमा सञ्चालित स्क्यामिङ केन्द्रमा पुर्‍याएका छन् भन्ने तथ्यांक भेटिँदैन । तर, ती क्षेत्रबाट उद्धार गरिएका नेपालीको संख्याले त्यहाँ ठूलो संख्यामा नेपालीलाई पुर्‍याइएको स्पष्ट हुन्छ । पछिल्लो अढाई वर्षावधिमा म्यानमार र थाइल्यान्डस्थित नेपाली दूतावासले त्यहाँबाट चार सयभन्दा बढी नेपालीलाई उद्धार गरी नेपाल फर्काइसकेका छन् । थाइल्यान्डस्थित नेपाली दूतावासका अनुसार पछिल्लो अढाई वर्षमा कम्बोडिया–थाइल्यान्ड, म्यानमार–थाइल्यान्ड सीमा तथा लाओसमा स्क्यामिङ केन्द्रहरूबाट ३६५ जना नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ । थाइल्यान्डस्थित नेपाली दूतावासले आर्थिक वर्ष ०८०।८१ मा ६८ जना, ०८१।८२ मा १५६ जना र चालु आव ०८२।८३ को हालसम्म १४५ जना उद्धार गरी नेपाल पठाएको छ । सोही अवधिमा म्यानमारस्थित नेपाली दूतावासले ७४ जनाभन्दा बढीलाई उद्धार गरी म्यानमारबाट नेपाल फर्काएको छ । म्यावडीमा पुर्‍याएपछि गाँसबासको पर्याप्त सुविधा नदिई नेपालीलाई कम्पाउन्डभित्र बन्धक बनाई साइबर स्क्यामिङ, अनलाइन फ्रडजस्ता कार्यमा लगाउने गरिएको भनाइ उद्धारपछि नेपाल फर्किएका पीडितहरूको छ । पछिल्ला वर्षमा साइबर स्क्यामिङसँग सम्बन्धित १६ वटा मुद्दा दर्ता भई अनुसन्धानपश्चात् काठमाडौं जिल्ला अदालतमा बुझाएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोका अनुसार ती मुद्दामध्ये चारवटा कम्बोडिया, तीनवटा लाओस र नौवटा म्यानमारसँग सम्बन्धित छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको प्रारम्भिक अनुसन्धानले म्यानमार जाने क्रममा थाइल्यान्डबाट म्यानमारसम्म ३६ घण्टा कारमा यात्रा गराई म्यानमारको केके–१ पार्कमा पुर्‍याउने गरेको देखाएको छ । केके–१ पार्क कम्पनीमा पुर्‍याएपछि कम्पनीका अधिकारीहरूले कामको ब्रिफिङ गर्छन् । विभिन्न देशका मानिससँग कुराकानी गरी उनीहरूलाई बिट क्वाइनमा लगानी गर्न र प्रेम सम्बन्धमा जोडिन प्रेरित गर्न लगाइने गरेको ब्युरोको अनुसन्धानमा देखिएको छ । त्यतिमात्र होइन, कम्पनीमा पुर्‍याइएपछि नेपालीलाई के–के कुरा बोल्ने, कसरी च्याट रिप्लाई गर्ने, कसरी ग्राहकलाई फसाउनेजस्ता विषयमा ट्रेनिङ दिइन्छ । उद्धारपछि फर्केका पीडितहरूका अनुसार काम गर्ने क्रममा नेपालीलाई ‘टार्गेट’ दिइन्छ । ‘टार्गेट’ हासिल गर्न नसकेमा शारीरिक थकान हुने सजाय दिने गरिन्छ । पानीको जार बोकाई भर्‍याङमा तलमाथि गर्न लगाउने, खुट्टाले शरीरमा कुट्ने, करेन्ट लगाउने, अध्याँरो कोठामा थुन्ने, ‘फ्रग जम्प’ गर्न लगाउनेजस्ता सजाय दिने पीडितहरूले प्रहरीसँगको बयानमा भनेका छन् ।

काम मन नपरेको र त्यहाँबाट निस्कन खोज्दा आठ लाख नेपाली रुपैयाँ बुझाउन लगाउने अन्यथा ‘तिमीहरू जान पाउँदैनौ’ भनी बन्धक बनाउने र बाध्यकारी रूपमा काम लगाउने गरेको पनि पीडितहरूको भनाइ छ । ‘टार्गेट’ हासिल गर्न दिनको १८ घण्टासम्म काममा लगाउने गरिन्छ । बैंककस्थित नेपाली दूतावासले ०८२ मंसिर २४ गते म्यानमारको म्यावाडीस्थित स्क्यामिङ केन्द्रमा आबद्ध ४७ जना नेपालीलाई उद्धार गरी नेपाल फर्काएको थियो । उद्धार गरिएका व्यक्तिहरू २६ जिल्लाका थिए, जसमा ४५ जना पुरुष तथा दुईजना महिला थिए । जिल्लागत रूपमा हेर्दा चितवन, दैलेख, कास्की, काठमाडौं, काभ्रे, पाल्पा, रामेछाप, रौतहट, सल्यान, सर्लाही, सिन्धुली, ताप्लेजुङ, तेह्रथुम जिल्लाका १,१ जना थिए । उद्धार गरी फर्काइएकामा दाङ, महोत्तरी, मोरङ, नवलपरासी, नुवाकोट, स्याङ्जा र तनहुँ जिल्लाका २र२ जना थिए । त्यस्तै, धादिङ, गोरखा, रुपन्देही, सिन्धुपाल्चोक र उदयपुर जिल्लाका ३र३ जना र झापा जिल्लाका पाँच जना थिए । यो विवरणले मानव तस्करहरूले पूर्वदेखि पश्चिम नेपालसम्म आफ्नो जालो फैलाएको देखाउँछ । पूर्वी नेपालदेखि पश्चिम नेपालका सबैलाई विभिन्न प्रलोभन देखाई म्यानमारको म्यावाडीमा पुर्‍याइएको छ । उमेरका हिसाबले उद्धार गरी फर्काइएका ४७ जनामध्ये १७ वर्षदेखि ४० वर्षका छन् । साथै, उनीहरू स्क्यामिङ केन्द्रमा दुई महिनादेखि १८ महिनासम्म आवद्ध भएको देखिएको छ । उद्धार गरिएका पीडितहरूको भनाइअनुसार उनीहरू विभिन्न व्यक्ति, साथीभाइ तथा पबजीलगायत अनलाइन गेम खेल्ने साथी, सामाजिक सञ्जालको विज्ञापन आदिबाट सम्पर्क गरी त्यहाँ पुगेको देखिन्छ । सुरुमा ह्वाट्सएप, भाइबर, मेसेन्जर, टिकटक, टेलिग्रामलगायत सामाजिक सञ्जालबाट काठमाडौंमा घण्टाको यति कमाइन्छ भनी रोजगारीको प्रस्ताव आउने गर्छ । त्यसमा प्रतिक्रिया जनाएपछि थप सम्पर्क हुँदै जाने र केही समयपछि भ्रमणका लागि आकर्षित मानिने मुलुकमा अफिस, कल सेन्टर, कम्प्युटर अपरेटर, रिसेप्सनिस्ट आदिको काम छ भन्ने प्रस्ताव गर्ने गर्छन् । त्यसपछि एक लाखभन्दा धेरै तलब हुन्छ भनी प्रलोभनमा पार्ने गरेको पीडितहरूले दूतावासलाई जानकारी दिएका छन् । त्यसरी प्रलोभनमा पारेपछि विभिन्न माध्यमबाट स्क्यामिङ केन्द्रहरूमा पुर्‍याइन्छ । स्क्यामिङ केन्द्रमा पुगेपछि नेपालीलाई केही महिनासम्म आरामदायी किसिमले काम लगाउने र केही समय व्यतीत भएपछि कामको निश्चित लक्ष्य दिने गरिन्छ । लक्ष्य पूरा गर्न नसके अन्य कुनै अपराधको दोष लगाई चरम आर्थिक तथा शारीरिक शोषण गर्ने, बन्धक बनाई परिवारबाट फिरौती माग गर्ने, जेल पठाउने, हत्या गर्नेजस्ता यातनासमेत भोग्नुपरेको पीडितहरूको भनाइ छ । स्क्यामिङ केन्द्रबाट निस्किन खोजे आफ्नो सट्टामा अर्को व्यक्तिलाई नल्याएसम्म सो स्थानबाट बाहिर निस्कन नदिने पनि पीडितहरूले बैंककस्थित नेपाली दूतावासलाई बताउँदै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *