भृकुटीमण्डपमा दशौँ संस्करणको ‘नेपाल फर्मा एक्स्पो २०२६’ आयोजना हुने
काठमाडौं । नेपाल औषधि उत्पादक संघको आयोजनामा आउँदो फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल फर्मा एक्स्पो २०२६’ को दशौँ संस्करण आयोजना हुने भएको छ । ‘फर्मामा नवीनताः भोलिको स्वास्थ्यका लागि’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस एक्सपोले नेपाली औषधि क्षेत्रको आधुनिक रूपान्तरणलाई उजागर गर्ने लक्ष्य राखेको छ । यसपटकको एक्स्पोमा २०० भन्दा बढी स्टलहरू रहनेछन्, जसमा औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ, प्याकिङ उत्पादक र मेसिनरीहरूको प्रदर्शन गरिनेछ । विशेषतः यस एक्स्पोमा ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको रहनेछ । जसले कच्चा पदार्थ, प्याकिङ सामग्री र नयाँ प्रविधिको क्षेत्रमा विश्वबजारमा आएका नवीनतम प्रविधिलाई नेपाली बजारसँग जोड्नेछन् । बाँकी १० प्रतिशत स्टलहरूमा स्वदेशी औषधि उद्योगका उत्कृष्ट उत्पादनहरू प्रदर्शन गरिनेछ । आजका औषधि विगतमा भएका रिसर्च एन्ड डेभलप्मेन्ट ९आरएनडी० अनुसार उत्पादन भएका र आजका दिनमा शतप्रतिशत नयाँ आरएनडी भइरहेका छन् । जसले भविष्यमा बन्ने औषधिको सुनिश्चितता गर्ने विषयमा जोड दिने नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारी बताउँछन् । उनी भन्छन्, “हामीले हिजोका दिनमा गरेका अनुसन्धान र आविष्कारहरू आजको औषधि उद्योगको आधार हुन् ।
आजको हाम्रो नवीन सोच र प्रविधिमा गरिने लगानीले नै भोलिको स्वस्थ नेपालको भविष्य सुनिश्चित गर्नेछ । यो एक्स्पो केवल प्रदर्शनी मात्र नभई नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने एउटा बलियो खुड्किलो हो । संघका महासचिव सन्तोष बरालले कार्यक्रमको महत्त्वमाथि प्रकाश पार्दै थपे, “धेरैलाई अझै पनि नेपालमा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय औषधि बन्छ भन्ने थाहा छैन । यस एक्स्पोमार्फत हामी सरोकारवाला र आम सर्वसाधारणलाई नेपालमै विश्वस्तरीय औषधि उत्पादन हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छौँ । औषधि क्षेत्रको ज्ञान लिन चाहने जो– कोहीका लागि प्रवेश निःशुल्क गरिएको छ ताकि सबैले नेपाली औषधिको क्षमता र सामथ्र्य बुझ्दै नेपालमै गुणस्तरीय औषधि उत्पादन भइरहेको विषयमा जानकारी पाउनुहुनेछ । यसपटकको एक्स्पोलाई संघले एउटा उत्सवका रूपमा मनाउँदै विभिन्न पूर्व–कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ । पहिलो कार्यक्रमअन्तर्गत माघ २ र ३ गते १६ वटा उद्योगको सहभागितामा फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भइसकेको छ । खेलकुदलाई निरन्तरता दिँदै आउँदो फागुन ८ र ९ गते आठवटा उद्योगहरूको सहभागितामा ‘क्रिकसल’ प्रतियोगिता आयोजना गरिनेछ । खेलकुदसँगै शैक्षिक र व्यावसायिक विकासका लागि फागुन ४ र ५ गते नै १०० जना म्यानेजर र बजारमा कार्यरत १०० जना औषधि बजार प्रतिनिधिहरूका लागि विशेष तालिम तथा सेमिनार सञ्चालन गरिनेछ । प्राविधिक पक्षलाई अझ सुदृढ बनाउन एक्स्पोको एक दिनअगाडि फागुन २७ गते नेपाली औषधि उद्योगमा कार्यरत क्वालिटी कन्ट्रोलका फर्मासिस्टहरूलाई अन्तर्राष्ट्रियस्तरका प्राविधिकहरूले गुणस्तरसम्बन्धी विशेष सेमिनार प्रदान गर्नेछन् । एक्स्पोको पहिलो दिन फागुन २८ गते बिहान ८ बजे भव्य प्रभातफेरी गरी कार्यक्रमको औपचारिक सुरुआत गरिनेछ ।
















