बंगलादेशमा ३५ वर्षपछि पुरुष प्रधानमन्त्री
काठमाडौं । बंगलादेशमा ३५ वर्षपछि कुनै पुरुष प्रधानमन्त्री बन्ने निश्चित भएको छ । सन् १९८८ मा काजी जाफर अहमद प्रधानमन्त्री बनेका थिए । त्यसपछि सन् १९९१ देखि २०२४ सम्म बंगलादेशको राजनीतिमा पूर्वप्रधानमन्त्री शेख हसिना र खालिदा जियाको प्रभुत्व रह्यो । यी दुई महिला नेत्रीले पटक–पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । बंगलादेशमा शेख हसिनाले देश छाडेको र खालिदा जियाको निधनपछि पहिलोपटक बिहीबार आमनिर्वाचन भएको थियो । शेख हसिनाको पार्टी आवामी लिगलाई यो निर्वाचनमा भाग लिन अनुमति दिइएको थिएन । त्यहाँको निर्वाचन आयोगले सन् २०२४ मा विद्यार्थी आन्दोलनका क्रममा भएको हिंसामा आवामी लिगको भूमिका रहेको भन्दै यस्तो निर्णय गरेको थियो ।
रहमानलाई मोदीले दिए बधाई
छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तारिक रहमानलाई त्यहाँको संसदीय निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)लाई ‘निर्णायक विजय दिलाएकामा बधाई ज्ञापन गरेका छन् । यो विजयले बंगलादेशका जनतामा तपाईंको नेतृत्वप्रतिको विश्वास देखाउँछ, मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, भारत लोकतान्त्रिक, प्रगतिशील र समावेशी बंगलादेशको समर्थनमा निरन्तर उभिनेछ । उनले अगाडि भनेका छन्, हाम्रो बहुआयामिक सम्बन्धलाई मजबुत बनाउन र साझा विकास लक्ष्य अघि बढाउन तपाईंसँग काम गर्न उत्सुक छु ।
अमेरिकी राजदूतले दिए बधाई
बंगलादेशका निम्ति अमेरिकी राजदूत ब्रेन्ट क्रिस्टेन्सेनले बिहीबारको निर्वाचनमा विजय दाबी गरेकामा बीएनपीलाई बधाई दिएका छन् । बंगलादेशका जनतालाई सफल निर्वाचनका निम्ति र बंगलादेश नेसनलिस्ट पार्टी तथा तारिक रहमानलाई तपाईंहरूको ऐतिहासिक विजयका लागि बधाई, क्रिस्टेन्सेनले सामाजिक सञ्जालमा लेखेका छन् । उनले अगाडि लेखेका छन्, अमेरिका हाम्रा दुवै देशका निम्ति समृद्धि र सुरक्षाजस्ता साझा लक्ष्य प्राप्त गर्न तपाईंसँग काम गर्न उत्सुक छ । तारिक रहमान नेतृत्वको बीएनपीले बिहीबार भएको आमनिर्वाचनमा बहुमत सिट जितेको दाबी गरेको छ । बीएनपीले अब नयाँ सरकार गठन गर्ने जनाएको छ ।
















