चार हेक्टर जग्गामा अस्ट्रेलियामा ‘मिनी नेपाल’ निर्माण हुँदै

अस्ट्रेलिया । मिनी नेपाल निर्माण गर्ने उद्देश्यसहित स्थापना गरिएको ग्रेटर सिड्नी नेपाली मल्टिकल्चर सेन्टरको पहिलो साधारणसभाले विष्णु हमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सिड्नीमा सम्पन्न साधारणसभाले अध्यक्ष हमालले प्रस्तुत गरेको संस्थाको प्रगति प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ । प्रतिवेदनमा संस्थाले स्थापनापछि गरेका गतिविधि, प्राप्त उपलब्धि, अवसर तथा चुनौती र आगामी योजनाबारे उल्लेख गरिएको थियो । हमालले नेपाली कला, संस्कृति र पहिचानलाई अस्ट्रेलियामा प्रवर्द्धन गर्ने उद्देश्यका साथ संस्थाले ‘मिनी नेपाल’ निर्माणको अभियान अघि बढाएको जानकारी दिए । महासचिव डा। प्रकाश पौडेलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष प्रकाश वस्ताकोटीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पनि सभाले अनुमोदन गरेको छ । आर्थिक प्रतिवेदनअनुसार सदस्यता शुल्क र विभिन्न सहयोगमार्फत हालसम्म संस्थाको कोषमा करिब नौ लाख अस्ट्रेलियन डलर संकलन भएको छ । कोषाध्यक्ष वस्ताकोटीका अनुसार नेपालका कथावाचक दिनबन्धु पोखरेलको उपस्थितिमा आयोजित महायज्ञमा ८८ जना दाताले प्रतिबद्धता जनाएको २० लाख अस्ट्रेलियन डलरभन्दा बढीमध्ये हालसम्म एक लाख ३६ हजार डलर संकलन भएको छ । कार्यक्रममा न्यू साउथ वेल्सका अवैतनिक महावाणिज्यदूत संजीव शर्माले नेपाली कला, संस्कृति र संस्कार संरक्षण तथा प्रवर्द्धनमा सरकारी तवरबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा विष्णु हमाल, उपाध्यक्षमा उमेश पन्त र देव बहादुर गुरुङ चयन भएका छन् । महासचिवमा डा। प्रकाश पौडेल, कोषाध्यक्षमा प्रकाश वस्ताकोटी र सहकोषाध्यक्षमा अमृत आचार्य चयन भएका छन् । सदस्यहरूमा बाबु गौतम, प्रतिज्ञा अधिकारी, महेन्द्र लम्साल, लक्ष्मी वस्ताकोटी, मीना शर्मा, पुरुषोत्तम सडौला, कल्याणी वर्तौला, सुदर्शन थापा, सुवान्स साह, विजय पौडेल उपाध्याय र प्रीति शर्मा चयन भएका छन् । बाँकी दुई सदस्य पछि मनोनयन गरिनेछ । नयाँ कार्यसमितिले आगामी चार महिनाभित्र सदस्य संख्या दुई हजार पुर्याउने, स्थानीय सरकारसँग सहकार्य गर्दै यसै वर्ष करिब चार हेक्टर जग्गा खरिद गर्ने तथा ‘मिनी नेपाल’ निर्माणलाई तीव्रता दिने योजना बनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *