मच्छिन्द्रलाई झापा गोल्डकपको उपाधि
मच्छिन्द्र क्लबले झापा गोल्डकपको उपाधि जितेको छ । सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको उपाधि जितेको हो । अधिकांश झापाली खेलाडी सहभागी मच्छिन्द्रले पहिलोपटक झापा गोल्डकपको उपाधि उचालेको हो । खेलको ३१औँ मिनेटमा मछिन्द्रले अग्रता बनायो । मच्छिन्द्रले अर्को गोल पहिलो हाफको अन्तिम समयमा गर्यो । पहिलो हाफमा २ गोल गरेको मच्छिन्द्रले ८३औँ मिनेटमा अर्को गोल थप्यो । ७६औँ मिनेटमा डिफेन्डर मानबहादुर राना मगर दोहोरो पहेँलो कार्डका कारण रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि एपीएफ १० खेलाडीमा सीमित हुँदा थप दबाबमा पर्यो । ८२औँ मिनेटमा एपीएफले एक गोल फर्काए पनि पराजय टार्न सकेन । उपाधिसँगै मच्छिन्द्रले नगद १५ लाख र ट्रफी प्राप्त गरेको छ । एपीएफले भने ७ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । प्लेयर अफ द म्याच मच्छिन्द्रका प्रदीप बुढाथोकी घोषित भए । उनले नगद २५ हजार पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मच्छिन्द्रका पेमा तामाङ भए । उनले यामाहाको मोटरसाइकल पाए । बेष्ट गोलकिपर घोषित मच्छिन्द्रका विशाल श्रेष्ठ, बेष्ट कोच मच्छिन्द्रकै प्रवेश कटवाल, हाई स्कोरर मच्छिन्द्रका जोनाथन जोरिल्ला भए । उनीहरूले जनही ३५ हजार रुपैयाँ र ट्रफी पाए । प्रतियोगितामा टिकट लिएर फुटबल हेर्ने दर्शकमध्ये गोलाप्रथाबाट बिर्तामोडकी प्रिती मोक्तानले यामाहाको स्कुटर जितिन् । यसैबीच, नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य नरोत्तम गौतमलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । प्रतियोगितामा नेपाल पुलिस, एपीएफ, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, लालिगुराँस एसोसिएसन नेपाल पोखरा, चर्च ब्वाइज युनाइटेड, आयोजक झापा–११ तथा भारतको सिङलिङ स्पोर्टिङ क्लब, भुटानको आरटीसी भुटान र मलेसियाको एन पेनाङ एफसीको सहभागिता थियो ।
















