रास्वपा बाराका संगठन विभाग प्रमुख चौधरीले गरे पार्टी परित्याग

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका संगठन विभाग प्रमुख पवन चौधरीले पार्टी परित्याग गरेका छन् । चौधरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार थिए । चौधरी यसपटक पनि उम्मेदवारका आकांक्षी थिए । पार्टीका जिल्ला सभापति चन्दन स्वर्णकारले चौधरीले दल परित्याग गर्नुको एउटा कारण उम्मेदवार चयन रहेको बताए । ‘उहाँ २५ हजार शुल्क तिरेर पार्टीको आन्तरिक निर्वाचनमा समावेश हुनुभएको थियो । तर अन्तिममा पार्टीले विधि विपरीत उम्मेदवार चयन गरेको प्रति असन्तुष्ट हुनुहुन्थ्यो,’ स्वर्णकारले भने । चौधरीले अघिल्लो प्रतिनिधिसभामा उम्मेदवार बनेका मधेशका २५ उम्मेदवारहरू मध्ये सर्वाधिक मत समेत ल्याएका थिए । चौधरी समुदायको बाक्लो बसोबास रहेको यो क्षेत्रमा चौधरीले पार्टी छाड्दा त्यसको प्रभाव उम्मेदवारमा पर्ने रास्वपा बाराका सभापति स्वर्णकारको भनाइ छ । जिल्ला कमिटिका सहसचिव समेत रहेका चौधरी राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन् । आसन्न निर्वाचनका लागि बाराका तीन वटा निर्वाचन क्षेत्रमा अन्य दलका व्यक्ति ल्याएर टिकट दिइएपछि बारामा रास्वपाका संस्थापकहरूले धमाधम पार्टी छाडिरहेका छन् ।

संगठन विभाग प्रमुख चौधरी रास्वपा गठनको पहिलो दिनबाटै संगठित भएका थिए । यसअघि बारा क्षेत्र नम्बर ३ का उपसभापति रोशन अधिकारी, क्षेत्र नम्बर ४ का उपसभापति दिलीप पण्डित, परवानीपुर गाउँपालिका सभापति मनोज साह, देवताल गाउँपालिका सभापति कमरुद्दिन अन्सारी र महीढिमाई नगरपालिकाका सचिव प्रदिप गुप्ताले समेत पार्टी छाडेको जिल्ला सभापति स्वर्णकारले बताए । रास्वपाले बाराका चार मध्य तीन क्षेत्रमा नयाँ व्यक्ति प्रवेश गराएर उम्मेदवार बनाएको छ । जनता समाजवादीबाट आएका चन्दन सिंह बारा(२ मा उम्मेदवार छन् । बारा ३ मा कुलमान घिसिङको उज्यालो नेपालका केन्द्रीय सदस्य रहेका अरविन्द सिंह र बारा ४ मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट पर्सा १ (१) मा निर्वाचित रहबर अन्सारीलाई ल्याएर रास्वपाले उम्मेदवार बनाएको छ । बारा १ मा भने रास्वपाका प्रदेश सहमहामन्त्री गणेश धिमाल उम्मेदवार छन् । धिमाल अघिल्लो पटक पनि उम्मेदवार बनेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *