अमेरिकाले ‘डिपोर्ट’ गरेका ९५ नेपाली आइपुगे काठमाडौं

काठमाडौं । अमेरिकाले ‘डिपोर्ट’ गरेका ९५ नेपाली काठमाडौं आइपुगेका छन् । चार्टर विमानमा राखी पठाइएका उनीहरू शनि बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल आइपुगेका हुन् । अमेरिकाले डिपोर्ट गरी पठाएका ९५ जना नेपाली आज (शनिबार) बिहान ८ बजे काठमाडौं आइपुगेका छन्, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत अनुज भण्डारीले भने । एकैदिन यति ठूलो संख्यामा अमेरिकाले डिपोर्ट गरी नेपाल पठाएको यो पहिलोपटक हो । गएको माघ ५ गते अमेरिकाले ९१ नेपालीलाई एकैदिन डिपोर्ट गरी पठाएको थियो । अमेरिकाले यसअघि पुस ३ गते पनि ७५ नेपालीलाई एकैपटक डिपोर्ट गरी नेपाल पठाएको थियो । त्यसअघि, भदौ १९ गते अमेरिकाले एकैदिन ३७ नेपालीलाई डिपोर्ट गरेको थियो ।

अमेरिकामा बस्न कानुनी आधार स्थापित नगर्ने नेपाली नागरिक डिपोर्ट गरिएको उक्त देशले जनाउँदै आएको छ । डिपोर्ट गरिएकाहरू काठमाडौं आउनु केही दिनअघि त्यसबारे यहाँस्थित अमेरिकी दूतावासले अध्यागमन विभागलाई जानकारी गराउने गरेको छ । विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीलाई बुझाउने गरिएको छ । प्रायः अवैध बाटो अमेरिका गएकाहरू डिपोर्टमा पर्ने गरेका छन् । यसैकारण उनीहरूलाई प्रहरीले आवश्यक सोधपुछ गर्ने गरेको छ । खासगरी उनीहरूलाई अमेरिका पठाउने (मानव तस्कर)का बारेमा सूचना लिने कार्य प्रहरीले गर्छ । अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसाय र बिनाभिसा बसेको जस्ता आरोप डिपोर्ट भएकाहरूमाथि अमेरिकाले लगाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *