खामेनीईको मृत्युपछि अब इरानको सर्वोच्च नेता को ?
काठमाडौं । अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा परी इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीईको मृत्यु भएको छ । आक्रमणपश्चात् इरानमा राजनीतिक अस्थिरता र विश्वव्यापी तनाव बढेको छ । अब विश्वको नजर इरानको नयाँ नेतृत्वतर्फ केन्द्रित भएको छ । विश्वव्यापी ध्यान इरानको आन्तरिक शक्ति सन्तुलन र उत्तराधिकारी छनोट प्रक्रियातर्फ मोडिएको हो । इरानको ८८ सदस्यीय ‘विशेषज्ञको सभा’ले नयाँ सर्वोच्च नेताको चयन गर्छ । यो परिषद्सँग सर्वोच्च नेतालाई हटाउने अधिकार समेत हुन्छ । यद्यपि, अहिलेसम्म यस्तो भएको छैन । यो परिषद् पूर्ण रूपमा शिया धर्मगुरुहरूबाट गठन हुन्छ । यसलाई प्रत्येक आठ वर्षमा आमनिर्वाचनमार्फत चुनिन्छ । उनीहरूको मनोनयनलाई ‘गार्डियन काउन्सिल’ले अनुमोदन गर्नुपर्छ । गार्डियन काउन्सिलले उमेदवारहरूलाई अयोग्य घोषित गर्न सक्ने अधिकार राख्छ ।
उदाहरणका निम्ति, सन् २०२४ मार्चमा पूर्वराष्ट्रपति हसन रुहानीलाई विज्ञ सभाको निर्वाचनमा भाग लिन रोक लगाइएको थियो । इरानी कानुनानुसार, विज्ञ सभाले सकेसम्म छिटो नयाँ सर्वोच्च नेता चयन गर्नुपर्छ । तर, यसमा ढिलाइ भएमा ‘अस्थायी नेतृत्व परिषद्’ले सबै नेतृत्वसम्बन्धी कार्य सम्हाल्न सक्छ । यो परिषद् इरानका वर्तमान राष्ट्रपति, न्यायपालिका प्रमुख र गार्डियन काउन्सिलका एक सदस्यबाट गठन हुन्छ । यसलाई ‘एक्सपेरियन्सी काउन्सिल’ले चयन गर्छ । यस्तो अवस्था आएको खण्डमा सुधारवादी राष्ट्रपति मसुद पेजेश्कियन र कडा अडानका न्यायपालिका प्रमुख घोलाम हुसेन मोसेनी एजई यो परिषद्मा सामेल हुनेछन् ।
खामेनीईका छोरा सम्भावित उत्तराधिकारी
उत्तराधिकारी छनोटसम्बन्धी छलफल र रणनीति प्रायः सार्वजनिक नजरभन्दा बाहिर हुने गर्छन् । पहिले खामेनीईका शिष्य तथा कडा अडानका राष्ट्रपति इब्राहिम रायसीले पद सम्हाल्न सक्ने अनुमान गरिएको थियो । तर, सन् २०२४ मेमा हेलिकोप्टर दुर्घटनामा परी उनको मृत्यु भयो । त्यसपछि खामेनीईका छोरा मोजतबा खामेनीई (५६ वर्षीय शिया धर्मगुरु)लाई सम्भावित उमेदवारका रूपमा अघि सारिएको छ । यद्यपि, हालसम्म उनले कुनै सरकारी पद सम्हालेका छैनन् । यदि, पिताबाट छोरामा सत्ता हस्तान्तरण गरिए इरानको धार्मिक शासनप्रणाली र नागरिकबीच विवाद निम्त्याउन सक्छ । केहीले यसलाई गैरइस्लामिक अभ्यासका रूपमा व्याख्या गर्न सक्ने सम्भावना पनि छ । खामेनीईका निकट सल्लाहकार मोहेसन कोमीलाई उनको एक सम्भावित उत्तराधिकारीका रूपमा हेरिएको छ । उनले धार्मिक तथा प्रशासनिक सञ्जालमा बलियो पकड बनाएका छन् । आयतोल्लाह अलीरेजा अराफी अर्का सम्भावित उमेदवार हुन् । उनी विशेषज्ञको सभा र गार्डियन काउन्सिलमा वरिष्ठ पदमा रहेका इरानका धार्मिक संस्थाका प्रमुखमध्ये एक हुन् । उनी लामो समयदेखि विज्ञको सभाका सदस्य रहँदै आएका छन् । उनी विशेष गरी कन्जरभेटिभवृत्तमा लोकप्रिय मानिन्छन् । यस्तै, आयतोल्लाह घोलाम हुसेन मोसेनी एजई वर्तमान इरानी न्यायपालिका प्रमुख तथा पूर्वगुप्तचर अधिकारी हुन् । उनी सुरक्षा संयन्त्र र राजनीतिक शक्तिकेन्द्रसँग नजिक मानिन्छन् । आयतोल्लाह हाशिम हुसैनी बुशेहरी अर्का दाबेदार हुन् । कोममा शुक्रबारको नमाजका इमाम, विज्ञको सभाका सदस्य तथा धार्मिक प्रतिष्ठाका कारण उनलाई सम्भावित उमेदवारका रूपमा हेरिएको छ ।
















