छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदानको निर्धारित समय सकिएको छ । निर्वाचन आयोगले बिहीबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको थियो । कुनै पनि स्थानमा मतदान रोकिएर पुनः गर्नुपर्ने नभएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिए । उनले भने, ‘‘निर्धारित समय सकिएको छ । तर, केही समय रोकिएका निर्वाचनस्थलहरूमा पुनः भइरहेकाले केही समय थप भएको छ ।’’ दोलखा, उदयपुर, महोत्तरी र सर्लाहीका केही स्थानमा भने मतदानका क्रममा विवाद भएको थियो । दोलखाका दुइटा मतदान केन्द्रमा विवाद भयो । एउटामा हवाई फायर समेत गर्नुपरेको प्रहरीले जनाएको छ ।
















