यो निर्वाचन निकास कि विनाश ?

काठमाडौँ । फागुन २१ गतेको निर्वाचनले मुलुकलाई निकास दिन्छ भनेर विश्वास गर्नेहरूलाई पनि निराश बनाएको छ । चुनाव गराउने सरकारको वैधताको मुद्दा किनारा लाग्न नपाउँदै चुनावको परिणामले स्तब्ध गराएको छ । चुनाव एउटा इच्छाएको शक्तिलाई वैधानिकता दिने काम गरी सम्पन्न गराइएको छ । सरकारी संयन्त्र, सरकार, विदेशी दूतावास, एनजिओ आइएनजीओ सबैले चुनावलाई जनताको अभिमत सही ढङ्गले अभिव्यक्त गराउने थलोको रूपमा होइन कुनै अमुक शक्तिलाई खुसी पार्ने परिणाम दिनमै केन्द्रित गराइयो । यो चुनावका केही यस्ता दृश्य सामने आए जसले चुनावको निष्पक्षता, स्वतन्त्रता र विश्वसनीयतामा गम्भीर प्रश्न खडा गरिदियो । सुरक्षाका जिम्मेवारी लिएका सेना, प्रहरी नै खुलेआम धाँधलीमा उत्रेका घटनालाई सामान्य ठान्नु भुल हुनेछ । चुनाव लगत्तै सामाजिक सञ्जालमा सुशीला कार्कीलाई स्वतन्त्र र धाँधलीरहित चुनावका लागी धन्यवाद दिने एकाध स्ट्याटस देखिए पनि उम्मेदवारकै मत हराउने, भोट हाल्न जाने मतदाताको नाममा अरूले नै भोट हालिसकेको हुनु । कैयौँ मतदातालाई भोट हाल्न जान नै अवरोध खडा गर्ने जस्ता घटनालाई धुनियाको चुनावी इतिहासमा सकारात्मक दृष्टिले हेर्न सकिँदैन । सबभन्दा खतरनाक कुरा त मतपेटिकाहरूमाथि नेपाली सेनाको नियन्त्रण नै देखियो । सेनाले मतपेटिका हेरफेर गरेको आशङ्कालाई पुष्टि गर्ने अनेक आधार भेटिएका छन् । यदि सही अर्थमा चुनावलाई विश्वसनीय र सर्वस्वीकार्य बनाउनु थियो भने मत पेटिका ढुवानीमा उम्मेदवारका प्रतिनिधिको उपस्थिति अनिवार्य हुन्थ्यो । तर त्यसो भएन र पनि काँग्रेस, एमालेले त्यसलाई सहज रूपमा स्वीकार गरे । त्यो अर्को आश्चर्यको कुरा भयो । यो चुनावको परिणामले देशलाई खतरनाक मोड तर्फ मोडेको सङ्केत गरेको छ । जुन दलका उम्मेदवारका ९० प्रतिशत उम्मेदवार कुनै न कुनै फौजदारी अभियोग लागेका व्यक्ति छन् । त्यही दललाई दुई तिहाइ दिएर चुनाव जिताइएको छ । अब त्यस्तो स्थितिलाई हेरेर नेपालले निकास पाउने कुनै सम्भावना देखिँदैन । यसरी हेर्दा यो चुनाव निकास खोज्ने गरी होइन, पुराना र ऐतिहासिक योगदान भएका दलहरूलाई किनारा लगाउने उद्देश्यबाट नै भएको थियो । चुनावको ट्रेन नयाँको पक्षमा भनिएको छ तर त्यसको प्रकृति हेर्दा नयाँको पक्षमा पनि देखिँदैन । नेपालको सामरिक महत्वलाई प्रयोग गरेर आफ्नो स्वार्थ पुरा गर्ने विदेशी शक्तिले आफ्नो स्वार्थ अनुसार चल्ने दललाई सबै निर्णय गर्न सक्ने वैधानिक अधिकार दिने गरी भएको चुनावले अब मुलुकलाई डरलाग्दो सङ्कटमा पार्न सक्ने खतरा देखिएको छ । भूराजनीतिक कारण सधैँ समस्यामा पर्ने गरेको नेपाललाई आफ्नो कब्जामा राख्न इतिहासदेखि नै प्रयत्न भइरहेका थिए ।

इन्डो चाइना तनावमा नेपालको भूमिकालाई मात्र होइन अमेरिकाले खम्पालाई प्रयोग गरेर तिब्बतमाथि लडाइँ गर्न उठाएको विगतका कदमले पनि यो तथ्यलाई जाहेर गर्छ । सधैँ सरकारलाई प्रभावमा पारेर आफ्नो काम बनाउँदै आएको शक्ति राष्ट्रहरूले अब आफ्नै पकेट सरकार बनाएर जाने नीति लिएपछिको अकल्पनीय घटना हो भाद्र २३–२४ को र त्यही घटनालाई बङ्ग्याएर काँग्रेस–एमाले विरुद्ध ‘ट्रोल’ बनाएर वर्तमान चुनावको पृष्ठभूमि तयार पारिएको थियो । सारा योजनाको रहस्योद्घाटन भइसक्दा पनि जनतालाई गुहराममा राखेर सारा शक्ति प्रयोग गरी चुनावलाई वैधानिकता दिन सफल भयो । एमालेभित्र ओली समर्थक र ओली विरोधी क्याम्प खडा गरेर चुनावमा जान बाध्य गराएको घटना र काङ्ग्रेसभित्र विशेष महाधिवेशन पक्षधर र विरोधीको विभाजनको सुनियोजित षड्यन्त्र यी दुई दललाई समाप्त पार्ने गुरुयोजना नै थियो । तर समय छँदै ती दलका नेताहरूले त्यो षड्यन्त्र चाल पाएनन् । अहिलेको सवाल कुन दलको अवस्था के भयो भन्ने होइन बरु देशको अस्तित्व बच्ने कि नबच्ने भन्ने हो । यसलाई ठुला भनिएको र पुराना दलले त्यति महत्त्व नै दिएको देखिएन । सिक्किमको भारत विलयनको इतिहासलाई एक पटक फेरि अध्ययन गर्नुपर्ने बेला भएको छ । त्यस बेला पनि लेन्डुप दर्जीलाई विदेशीले प्रयोग गर्दा अकष्मात सत्ता सुम्पने बाचा गरेको थियो । तर, त्यसपछि भयो के ? विदेशमा रहेका नेपालीका सन्तानलाई प्रयोग गरेर नेपाली मतदाताहरूलाई गलत ठाउँमा मत हाल्न बाध्य पार्नेहरूले परिणाम बेहोर्न तयार हुनुपर्छ । अब विदेशमा रहेका उरन्ठेउलाले नेपालको भाग्य र भविष्य निर्माणमा हुने दिन पनि आयो । नेपालको अस्तित्व मेटिँदा मानव जातिको एउटा अध्ययन नै समाप्त हुन्छ । यहाँका धर्म, भाषा, संस्कृति, जातजाति, परम्परामाथि आक्रमणको एउटा चरण पूरा गरेपछि देशको सार्वभौमिकतामाथि आक्रमण भएको छ । र, त्यो पनि व्यारलको माध्यमले होइन, ब्याटलेको माध्यमले नेपाली युवाहरूमा विकासको दृष्टिकोणमा देखिएको विचलनकै कारण आज मुलुकले यो अवस्था भोग्नु परेको हो । पश्चिमा चकाचौंधलाई मात्र विकास ठान्ने प्रवृत्तिबाट हाम्रो युवा पुस्ता प्रभावित हुनु नै आज चुनावको माध्यमबाट देश कब्जा गर्ने दिशातर्फ पश्चिमाहरूको कदम सफल बन्दै गएको देखिँदै छ । राजनीति नबुझेका आला काँचा युवाले उकासेका भरमा मतदान गर्ने तिनका अभिभावकलाई निमित्त बनाएर देश सक्ने काम भएको छ । आफ्ना छोराछोरी विदेश गएकोमा गौरव गर्ने बाबुआमाले अब पश्चात्ताप गर्नुपर्ने दिन आउँदै छ । नयाँ सरकार बनेर त्यसले विदेशीसँग खुल्ला र गुप्तरुपले गर्ने सम्झौताले नै नेपालको अस्तित्वको फैसला गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *