जोखिम बढ्दै छ,सरकार मस्त निद्रामा

नेपालको राजधानी शहर काठमाण्डौको प्रदूषण लेभल हाइ भएको छ । त्यही प्रदूषणकै कारण झन्डै तीन हप्तादेखि मौसम अनपेक्षित रूपले बिग्रिएको छ । सामान्य रूपले खुला हावामा सास फेर्न समेत समस्या हुने गरी राजधानीको मौसम बिग्रिदा समेत वातावरण अभियन्ता,सरकार र सरोकारवाला निकायले खासै चासो नदेखाउनु चाहिँ अचम्मको विषय बनेको छ । सरकारले बिना काम घरबाट ननिस्कन सर्वसाधारणका लागी सूचना जारी गर्ने बाहेक यस दिशामा कुनै ठोस कदम उठाएको देखिँदैन । सरकार ढुक्कले बसिरहँदा वातावरण प्रदूषणकै कारण सर्वसाधारणको स्वास्थ्य भने जोखिमयुक्त अवस्थामा पुगेको छ । शहरवासीहरु एलर्जी, आँखा चिलाउने,नाक कोक्याउने,ज्वरो आउने जस्ता समस्याबाट पीडित हुन थालेका छन् । काठमाण्डौको आकाश तुवाँलोले पुरै ढाकिएको छ । हावाहुरी र वर्षाको सम्भावना टरेर गएको छ । यो समस्या अरू केही दिन लम्बियो भने राजधानी समेत नेपालका शहरी क्षेत्रमा अनेक खाले महामारीको प्रकोप देखिने सम्भावना छ ।
अहिले काठमाडौँ शहर संसारकै अत्यधिक प्रदूषित शहरको सूचिमा चौथो नम्बरमा रहेको बताइन्छ । यो अवस्था यति कहालीलाग्दो छ कि केही दिनमा नै काठमाडौँ नम्बर वान प्रदूषित शहरमा आउने स्थिति देखिन्छ । प्रदूषण बिना कारण हुने हुने होइन । प्रदूषण बढ्नुमा मानवीय कारण दोषीमा रहेको हुन्छ । प्रकृतिमाथि हुने मानवीय दोहनका कारण प्रदूषण बढ्न जान्छ र त्यसको दुष्प्रभाव पनि मानव जीवनमाथि नै पर्छ । के कारणले प्रदूषण बढिरहेको छ भन्ने अध्ययन सरकारी तवरबाट भएको पनि देखिँदैन । हरेक वर्ष प्रदूषण लेभल बढिरहेको हुन्छ । यसलाई हटाउनका लागी वातावरण सुधारको योजना बनाउने, त्यो योजना लागू गर्न कार्यक्रम बनाउने तर्फ तीनै तहका सरकारको ध्यान गएको देखिँदैन । सायद तीनै तहका सरकारको प्राथमिकतामा यो क्षेत्र नपरेर यस्तो भएको हुनुपर्छ । हुन त नेपालमा वातावरण प्रदूषण मात्र समस्या होइन । त्यो भन्दा डरलाग्दो समस्या राजनीतिक प्रदूषणको छ । राजनीतिक प्रदूषण नहटाईकन अन्य प्रदूषणलाई हटाउन सम्भव पनि हुँदैन । पछिल्लो कालखण्डमा नेपालको राजनीतिक प्रदूषणको प्रभावले संसारलाई नै असर गरिरहेको छ । अहिलेको निर्वाचनले त झन् यो समस्यालाई यति जटिल बनाइदियो कि यसले नेपालकै अस्तित्व खतरामा पर्ने सम्भावना बढाइदियो । राजनीतिक प्रदूषण हटाउन राजनीतिक दलहरू सुध्रनु पर्छ । तिनले पार्टीलाई सुधार गर्न तिर ध्यान दिनु जरुरी छ । सरकार र राजनीतिक दलहरू स्वयम डरलाग्दो दलदलमा फसेकाले मुलुकलाई सहजै कम गराउन सकिने वातावरण प्रदूषणप्रति ध्यान दिन सकेको छैन ।
धुलो,धुवाँ लगायतका वातावरणलाई प्रदूषित गराउने तत्त्वलाई कम गराउन रुख रोप्ने,जङ्गल बढाउने,ताल तलैयाको संरक्षण गराउने,पानीको श्रोत बढाउने,फप्सटिकर प्लास्टिकजन्य फोहोरलाई व्यवस्थित गराउने मात्र हो भने पनि वातावरण कल्पनै गर्न नसकिने गरी सुध्रिन सक्छ । खास गरेर प्लास्टिक बाल्ने, त्यसको खतरनाक धुवाँलाई फैलाउने गरी हामी नेपाली जोखिमपूर्ण वातावरणीय समस्यामा फस्दै गएका छौँ । यसलाई कम गराउने सरकारकै मात्र मुख ताक्नु पनि जरुरत छैन । वातावरणको क्षेत्रमा काम गर्ने अभियन्ता, चेतनशील समुदाय,युवा विद्यार्थी सक्रिय भएर लाग्ने हो भने वातावरणलाई सुधार्न सम्भव छ । प्लास्टिक जन्य फोहोरलाई सही ढङ्गले व्यवस्थापन मात्र गर्न सकिए पनि त्यसलाई जथाभाबी बाल्नबाट रोक्न सकिन्छ । त्यसलाई डढाउँदा त्यसबाट निस्कने धुवाँ कति खतरनाक हुन्छ भन्ने जानकारी सर्वसाधारणमा दिन सकियो भने पनि त्यसले ठुलो काम गर्छ । बिना लगानी सामान्य सरकारी सेवा लिन आउने सर्वसाधारण लाई पनि त्यो जानकारी गराउन सम्भव हुन्छ । सरकारले त्यसको पहल भने लिनु पर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *